कोशी करिडोर २२० केभी प्रसारणलाइनको पहिलो खण्ड तयार

कोशी करिडोर २२० केभी प्रसारणलाइनको पहिलो खण्ड तयार

काठमाडौं । कोशी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ। सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १०६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारणलाइनको निर्माण सम्पन्न भएको हो। प्रसारणलाइनका लागि ३२६ वटा टावर निर्माण गरिएको छ।

प्रसारणलाइनको निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका र निर्माण हुने करिब दुई हजार मेगावाट जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। लाइनलाई मंगलबारबाट ३३ केभीमा सञ्चालन (चार्ज) गरिनेछ।

‘इनरुवामा २२० केभीको सबस्टेसनको निर्माण पूरा नहुन्जेल लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिनेछ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यसले बर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारणलाइनको समस्या समाधान भएको छ।’ संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारणलाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका(१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइने छ। तिरतिरे(वसन्तपुर(धनकुटा(धरान ३३ केभी प्रसारणलाइनको क्षमताले नपुग्दा भोजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित आयोजनाहरु बर्खाको समयमा पूर्णक्षमतामा चल्न सकिरहेका थिएनन्। आयोजनाहरुको जडित क्षमता करिब ३३ मेगावाट छ।

प्रकाशित मिति:     ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar