नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने

नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार वार्षिक राष्ट्रिय तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिको प्रक्षेपणबारे जानकारी गराएको हो।

चालु आवमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ बराबर हुने विवरणमा उल्लेख छ। आव २०७९–८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान छ। आव २०७८–७९ मा अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रहेको अन्तिम विवरण सार्वजनिक गरिएको छ।

चालु आवमा कृषि क्षेत्रको तीन दशमलव शून्य पाँच प्रतिशत र गैरकृषि क्षेत्रको तीन दशमलव ७५ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ।
संशोधित विवरणअनुसार गत आव २०७९–८० मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव ७६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर दुई दशमलव १३ प्रतिशत रहने अनुमान गरिएको छ।

त्यसैगरी, अन्तिम विवरणअनुसार आव २०७८–७९ मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव ३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर छ दशमलव ५४ प्रतिशत कायम हुने तथ्यांक सार्वजनिक गरिएको छ।

समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर अध्ययन गरिएको कार्यालयले जनाएको छ। चालु आवमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः तीन दशमलव शून्य तीन प्रतिशत, एक दशमलव २० प्रतिशत र चार दशमलव ५० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

प्रकाशित मिति:     १९ बैशाख २०८१, बुधबार  |    Himali Khabar