सेती नदी जलविद्युत आयोजनाका लागि आवश्यक इलेक्ट्रोमेकानिकल सामान अष्ट्रियनको ग्लोबल हाइड्रोले उपलब्ध गराउने

सेती नदी जलविद्युत आयोजनाका लागि आवश्यक इलेक्ट्रोमेकानिकल सामान अष्ट्रियनको ग्लोबल हाइड्रोले उपलब्ध गराउने

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाका लागि अष्ट्रियन कम्पनी ग्लोबल हाइड्रोले इलेक्ट्रोमेकानिकल तर्फको सामानहरु उपलब्ध गराउने भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी र अष्ट्रियन कम्पनी ग्लोबल हाइड्रोबीच यसबारे बुधबार सम्झौता भएको छ ।

सम्झौता पत्रमा भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले र ग्लोबल हाइड्रोका तर्फबाट टेकचन्द्र सेरातवले हस्ताक्षर गरेका छन् ।

करिब ५ अर्ब रुपैयाँ लगानीमा उक्त आयोजना निर्माण सुरु भएको छ । आयोजनामा एनएमबी बैंकले २ अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड गरी ३ अर्ब ५० करोड लगानी रहेको छ । आयोजनाको कूल लागतमध्ये ७० प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ । बाँकी ३० प्रतिशत १ अर्ब ५० करोड रकम प्रवर्द्धकको लगानी छ ।

आयोजनाको सिभिल तर्फको निर्माण जिम्मा रसुवा लुना जेभिले लिएको छ। कोरोना महामारीको बीचमा पनि आयोजना निर्माणको काम तीब्र भइरहेको छ । आयोजनाको मुख्य निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको लाहाचोक सव स्टेशनमा जोडिनेछ । आयोजनाले उत्पादन गरेको विद्युत् बर्खायामको छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता छ ।

प्रकाशित मिति:     २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar