आइतवारदेखि सातामा ५३ वटा अन्तरास्ट्रिय उडान, कहाँ-कहाँ थपियो ?

आइतवारदेखि सातामा ५३ वटा अन्तरास्ट्रिय उडान, कहाँ-कहाँ थपियो ?

काठमाडौं । सरकारले मुलुकको अन्तरास्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब सातामा कुल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय गरिएको छ ।

सरकारले अन्तरराष्ट्रिय उडानतर्फ उडान संख्या थप गर्दै यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप गर्ने निर्णय गरेको जानकारी दिइएको छ । नयाँ तालिकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान सम्बन्धित मुलुकका राष्ट्रिय ध्वजाबाहकले गर्नेछन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बुधवार र एयर इण्डियाले सोमवार गर्नेछन् ।

यस्तै नेपाल एयरलाइन्सले यूएईको दुबईमा मंगलवार र बिहीवार तथा नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले आइतवार, मंगलवार र बिहीवार उडान गर्नेछन् । फ्लाइ दुबइले आइतवार, बुधवार र शुक्रवार एक÷एक वटा उडान गर्नेछ ।

क्यानको उडान तालिका अनुसार कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन उडान गर्नेछन् भने हिमालय एयरलाइन्सलाई साताको सोमवार, बुधवार र शनिवार उडान अनुमति दिइएको छ । उक्त एयरलाइन्सले साउदी अरेबियाको दमाममा साताको चार दिन आइतवार, सोमवार, बुधवार र शुक्रवार उडान गर्नेछ ।

यस्तै नेपाल एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा बुधवार र शनिवार सातामा दुई उडान पाएको छ । हिमालय एयरलाइन्सले बिहीवार, शुक्रवार र शनिवार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमवार, बिहीवार र शनिवार उडान गर्नेछ भने जजिरा एयरवेजले कुवेतमा साताको पाँच दिन सोमवार, मंगलवार, बुधवार, बिहीवार र शनिवार उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सातामा तीन दिन सोमवार, बुधवार र शनिवार उडान गर्ने तालिका छ । एयर अरेबियाले आबुधाबीमा आइतवार र मंगलवारको उडान तालिका पाएको छ । सिंगापुर एयरले हरेक आइतवार काठमाडौं उडान गर्नेछ ।

प्रकाशित मिति:     २६ असार २०७८, शनिबार  |    Himali Khabar