फेसबुकका उपाध्यक्षले दिए राजीनामा, यस्तो छ कारण ?

फेसबुकका उपाध्यक्षले दिए राजीनामा, यस्तो छ कारण ?

काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकले अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटी (एआर तथा भिआर) को क्षेत्रमा समेत आफ्नो उपस्थिति मजबुत बनाउँदैछ । यही वर्ष स्मार्ट चश्मा बजारमा ल्याउने गरी फेसबुकले काम गरिरहेको छ । तर स्मार्ट चश्मा सार्वजनिक हुनु अगावै फेसबुकको सोही विभाग हेर्ने उपाध्यक्षले राजीनामा दिएका छन् ।

फेसबुकको अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटी इकाइ हेर्ने उपाध्यक्ष ह्युगो बार्राले फेसबुक कम्पनी छाड्न लागेको घोषणा गरेका हुन् । कुनै समय चिनिया स्मार्टफोन कम्पनी शाओमीको भारतस्थित शाखाको जिम्मेवारी सम्हालेका बार्राले गुगल कम्पनीको एन्ड्रोइड प्रडक्ट म्यानेजमेन्ट इकाइमा उपाध्यक्षको रुपमा काम गरेका थिए । चार वर्ष अघि उनले शाओमी छाडेर फेसबुकमा जागिर सुरु गरेका थिए । आगामी दिनमा स्वास्थ्य सेवा प्रविधिको क्षेत्रमा नयाँ अन्वेषण गर्नका लागि फेसबुक छाड्न लागेको उनले बताएका छन् ।

आफ्नो फेसबुक पेजमा बार्राले लेखेका छन् जब ५ वर्ष अगाडि मार्क जुकरबर्गले म सँग भेट गरी फेसबुक कम्पनीमा आउन र त्यहाँको ओकुलस टिमको नेतृत्व गरी भर्चुअल रियालिटीको क्षेत्रमा काम गर्न आग्रह गरे त्यतिबेला मलाई थाहा थियो कि मैले एउटा महत्वाकांक्षी यात्रा सुरु गर्दैछु । यो टिमले यति छोटो समयमा यतिधेरै प्रगति गर्न सक्ला भन्ने मैले कल्पना पनि गरेको थिइनँ । ओकुलस गो, क्वेस्ट, क्वेस्ट टू आदिको उपलब्धीलाई दृष्टिगत गर्दा म गौरवान्वित छु । फेसबुकले आगामी दिनहरुमा ल्याउने नयाँ प्रडक्टहरुलाई लिएर पनि म उत्साहित छु । रेबन सँगको सहकार्यमा फेसबुकले यहीँ वर्ष स्मार्ट चस्मा ल्याउँदैछ । यसले अहिलेको भर्चुअल रियालिटी हेडसेट र भोलिको अग्मेन्टेड रियालिटी चस्मा बीचको विन्दुलाई जोड्नेछ ।

प्रकाशित मिति:     ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar