काठमाडौं उपत्यकाका ठूला अस्पतालमा विभागको अनुगमन

काठमाडौं उपत्यकाका ठूला अस्पतालमा विभागको अनुगमन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका सात ठूला अस्पतालको अनुगमन गरेको हो ।

उपलब्ध सेवा, शुल्कसमेतका बारेमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार बिहीबार मीनभवनमा रहेको सिभिल अस्पताल, चाबहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज ९केएमसी०, सुकेधारामा रहेको ह्याम्स, टोखामा रहेको ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा आयातकर्ताबाट उक्त अस्पतालहरुलाई उपलब्ध गराइएको रेम्डेसिभिर औषधि पर्याप्त नभएको पाइएको प्रवक्ता सेढाईंले जानकारी दिए । सात ठूला अस्पतालले अस्पतालमा उपचाररत बिरामीका लागि प्रयोग गरेको औषधिको अधिक मूल्य पाँच हजार १०० रुपैयाँ लिएको नपाइएको जनाइएको छ । रेम्डेसिभिर औषधिको न्यून उपलब्धता, वितरण पद्धति प्रभावकारी नहुँदा एक अस्पतालमा सञ्चित हुँदा अर्को अस्पतालमा अभाव देखिएको निष्कर्ष निकालिएको थियो ।

यस्तै, बिरामीको अनुपातमा उपलब्ध शय्या संख्या अपुग रहेको, अस्पतालमा नै तोकिएको स्वस्थ्य मापदण्ड पालना नभएको, अस्पतालपिच्छे उपलब्ध सेवा र शुल्कबीच असमानता रहेको समेत पाइएको थियो । उक्त अस्पतालको अनुगमनपश्चात विभागले छानबिनका लागि आवश्यक कागजात पेस गर्न निर्देशन दिएको छ ।

पछिल्लो समय निजी क्षेत्रको लगानीमा सञ्चालित अस्पतालले कोरोनाभाइरस संक्रमणका बिरामीको उपचारमा चर्को शुल्क लिने गरेको गुनासोपछि विभागले विभिन्न निकायको समन्वयमा सातवटा अस्पतालको अनुगमन गरेको हो ।

प्रकाशित मिति:     २५ बैशाख २०७८, शनिबार  |    Himali Khabar