बंगलादेशबाट खरिद गरिएको मल एक सातामा नेपाल आउने

बंगलादेशबाट खरिद गरिएको मल एक सातामा नेपाल आउने

काठमाडौं,१८ फागुन । नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत खरिद ल्याउन लागेको युरिया मल अबको एक सातामा नेपाल आइपुग्ने भएको छ । ५० हजार मेट्रिक टन युरिया मलमध्ये हाल २२ हजार ५ सय मेटन मल कोलकाता बन्दरगाहमा आइपुगेको जानकारी दिइएको छ ।

कोलकाता बन्दरगाहमा आइपुगेको मल अहिले श्रमिकहरूले अनलोड र ब्यागिङ गर्दै छन् । अबको ३/४ दिनमा ब्यागिङको काम सकिएपछि करिब १ सातामा हल्दिया रेलवे हुँदै मल वीरगञ्ज आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए ।

वीरगञ्ज आइसकेपछि त्यसलाई वितरणका लागि विराटनगर र भैरहवा पठाइने छ । नेपालले बंगलादेश सरकारसँग किनेको मल बंगलादेशको चटगाउँ बन्दरगाहबाट ढुवानिकर्ता कम्पनी जेन ट्रेड एफजेडएफले नेपालसम्म ढुवानी गर्नेछ । बंगलादेश सरकारले जेन ट्रेडलाई कुल ५० हजार मेटन युरिया मल तीन चरणमा उपलब्ध गराउनेछ ।

दोस्रो चरणको १० हजार मेटन मल जेन ट्रेडले अबको हप्ता दिनभित्र प्राप्त गर्ने छ भने तेस्रो चरणको १७ हजार ५ सय मेटन मल मार्च १५ तारीखमा बुुझ्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:     १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar