एलन मस्कको कम्पनीले गर्‍यो चमत्कार

एलन मस्कको कम्पनीले गर्‍यो चमत्कार

काठमाडौं । विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको स्टार्टअप कम्पनी न्युरालिंकले एउटा यस्तो भिडियो सार्वजनिक गरेको छ, जसले धेरैलाई आश्चर्यमा पारिदिएको छ । सार्वजनिक भएको भिडियोमा एउटा बाँदर आफ्नै दिमाग लगाएर भिडियो गेम खेलिरहेको देख्न सकिन्छ । एउटा बाँदर भिडियो गेम पोंग खेलिरहेको न्युरालिंकको भिडियो मस्कले ट्वीटरमा सेयर गरेका छन् ।

उसो त न्युरालिंक एउटा यस्तो कम्पनी हो जसले प्रत्यारोपणयोग्य मस्तिष्क मेसिन इन्टरफेसको विकास गरिरहेको छ जसले मानिसको मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने काम गरिरहेको छ । नौ वर्षको पेजर नामक उक्त बाँदरले यो भिडियो खिच्नुभन्दा झण्डै ६ हप्ताअघि न्युरालिंकको मेसिन प्रत्यारोपण गरिएको थियो ।

पेजरलाई सुरुमा जोएस्टिकको सहायताले अनस्क्रिन गेम खेल्न सिकाइएको भिडियोबाट प्रष्ट हुन्छ । पेजरले भिडियो गेममा रंगिन वर्गहरुलाई सार्नका लागि जोए स्टिकको प्रयोग गरेको भिडियोमा देख्न सकिन्छ । केही छिनपछि कम्प्युटरबाट जोएस्टिक हटाइन्छ तर पेजरले चाहिँ आफ्नै दिमागले पोंग गेमलाई निरन्तरता दिएको हुन्छ ।

न्युरालिंकले आफ्नो आधिकारिक वक्तव्यमा भनेको छ–हामीहरु यो खुलासा गर्दा खुसी छौँ कि आफ्नै स्नायुजन्य क्रियाकलापमार्फत् पेजर नामको बाँदरलाई कम्प्युटर स्क्रिनमा कर्सर सार्न सक्षम बनाउन न्युरालिंक सफल भएको छ । बाँदरमा १०२४ इलेक्ट्रोडयुक्त न्युरल रेकडिंग तथा डाटा ट्रान्समिसन यन्त्र प्रत्यारोपण गरिएको थियो । टेस्ला सीईओ मस्कले उक्त भिडियो शेयर गर्दै ट्वीटरमा लेखेका छन् – बाँदरले आफ्नो दिमागले पोंग खेलेको छ । वास्तवमा एउटा बाँदर ब्रेन चिपको प्रयोग गरी भिडियो गेम खेलिरहेको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति:     ३० चैत्र २०७७, सोमबार  |    Himali Khabar