अमेरिकाद्वारा थप १४ चिनियाँ कम्पनीलाई प्रतिबन्ध

अमेरिकाद्वारा थप १४ चिनियाँ कम्पनीलाई प्रतिबन्ध

वासिङटन । अमेरिकी सरकारले थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ । सिनच्याङ उइगुर क्षेत्रमा मानव अधिकार उल्लंघनका घटनामा उनीहरूको संलग्नता भएकाले ती कम्पनीहरूलाई प्रतिबन्धितको सूचीमा राखिएको एनएचके वल्र्डले अमेरिकी वाणिज्य विभागलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

एनएचके वल्र्डले रिपोर्ट गरे अनुसार प्रतिबन्धित यी कम्पनीहरूले चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को उइगुर र यस क्षेत्रका अन्य जातीय अल्पसंख्यक समुदायबिरूद्ध सामूहिक हिरासत र उच्च प्रविधिको निगरानीको अभियानलाई सक्षम पारेको आरोप अमेरिकाको छ । रिपोर्ट अनुसार अमेरिकी वाणिज्य मन्त्री जीना राइमन्डोले अमेरिकी मन्त्रालय सिनच्याङमा मानव अधिकार उल्लंघन गर्ने संस्थालाई लक्षित गर्न कडा र निर्णायक कदम चाल्न प्रतिबद्ध रहेको बताएका छन्। बाइडेन प्रशासनले ‘बेइजिङको मानव अधिकार उल्लंघन विरूद्ध कडा कदम चालेको एनएचकेले बताएको छ ।

२ महिना अगाडि अमेरिकाले ५ चिनियाँ सौर्य प्यानल कम्पनीहरूलाई सिनच्याङ– उइगुर क्षेत्रमा जबरजस्ती श्रम प्रयोग गरेको आरोप लगाउँदै प्रतिबन्धित सूचीमा जोडेको थियो । चिनियाँ सरकारले उक्त आरोपलाई अस्वीकार गर्दै यी प्रतिबन्धहरू झूटा आरोपमा आधारित रहेको बताएको छ । चीनले युगुर मुसलमानहरूलाई असमान व्यवहार नगरेको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति:     २७ असार २०७८, आईतवार  |    Himali Khabar