विश्वमा डलर खर्बपतिको संख्या ९ जना पुग्यो

विश्वमा डलर खर्बपतिको संख्या ९ जना पुग्यो

काठमाडौं । संसारमा खर्बपति धनाढ्यको संख्या ९ पुगेको छ । ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सको सूची अनुसार १ खर्ब अमेरिकी डलर भन्दा बढी सम्पति हुने धनाढ्यको संख्या ९ जना पुगेको हो ।

यो सूचीको अन्तिममा माइक्रोसफ्टका पूर्व प्रमुख कार्यकारी अधिकृत स्टिभ बाल्मर देखिएका छन् । उनको सम्पति १ खर्ब डलरभन्दा माथि पुगेको छ । यस्तै, ओराकलका संस्थापक ल्यारी एलिसन पनि खर्बपतिको सूचीमा थपिने तयारीमा रहेका छन् । ल्यारीको सम्पति पनि ९८.६ अर्ब डलर पुगेकोे छ । ६५ वर्षका स्टिभ बाल्मरले सन् २०१४ मा माइक्रोसफ्टको प्रमुख कार्यकारी पद त्यागेका थिए । हाल बाल्मर अमेरिकाको बास्केटबल टिम लस एन्जलस क्लिपर्सका मालिक हुन् । यस वर्ष बाल्मरको सम्पति २०.१ अर्ब डलर र एलिसनको सम्पति १८.९ अर्ब डलरले बढेको छ ।

प्रविधि क्षेत्रका कम्पनीहरुको सेयरमा आएको उछालले धानढ्यहरुको सम्पति झन् धेरै वृद्धि गर्न मलजल गरेको हो । खर्बपतिहरुको सूचीमा परेका ९ मध्ये ७ जना प्रविधि क्षेत्रमा आवद्ध रहेका छन् । सूचीको पहिलो स्थानमा रहेका जेफ बेजोसको नेटवर्थ २ खर्ब १२ अर्ब डलर भन्दा बढी पुगेको छ ।

खर्बपतिको सूचीमा रहेका ९ जना र उनीहरुलाई पछ्याइरहेका ल्यारी एलिसनसहित १० जनाको कुल सम्पति सन् २०२१ मा मात्र २ खर्ब ४५ अर्ब डलरले बढिसकेको छ । यी १० जनाको कुल सम्पति १३ खर्ब डलर भन्दा बढी रहेको छ । जसमा फ्रान्सका बर्नार्ड आर्नल्ट बाहेक अन्य सबै अमेरिकी नागरिक हुन् ।

प्रकाशित मिति:     २५ असार २०७८, शुक्रबार  |    Himali Khabar