गुगलका कर्मचारी हप्तामा ३ दिन अफिस जानुपर्ने

गुगलका कर्मचारी हप्तामा ३ दिन अफिस जानुपर्ने

काठमाडौं । इन्टरनेट जाएन्ट गुगलका कर्मचारीहरु आगामी दिनमा एक हप्तामा ३ दिन अफिस गएर काम गर्नुपर्ने भएको छ । गुगलका सिइओ सुन्दर पिचाईले आफ्ना कर्मचारीहरुलाई एक इमेल पठाउँदै अमेरिकामा लकडाउन खुकुल हुँदै गर्दा कर्मचारीहरुले हप्तामा झण्डै ३ दिन अफिसमा गएर काम गर्न प्रोत्साहित गरेका छन् ।

गुगलले आफ्नो कार्यालय गत अप्रिलदेखि नै आंशिक रूपमा खोल्न सुरु गरेको थियो । आगामी दिनमा कर्मचारीहरुलाई घर र कार्यालय दुबैबाट कसरी काम गराउने भन्ने विषयमा विस्तृत खाका बनाएको छ ।

कर्मचारीहरुलाई पठाएको इमेलमा पिचाईले अफिसमै ससरीर उपस्थित भएर काम गर्नुका फाइदाहरुको बारेमा समेत उल्लेख गरेका छन् ।

ट्वीटरले आफ्ना कर्मचारीहरुलाई स्थायी रुपमै घरबाट काम गर्न पाउने निर्णय गरेको र फेसबुकले समेत कर्मचारीहरुले घरबाटै काम गर्ने नियमलाई निरन्तरता दिएको अवस्थामा गुगलले चाहीँ आफ्ना कर्मचारीहरुलाई क्रमिक रुपमा कार्यालयमै उपस्थित गराउने योजना बनाएको हो ।

जबकि गत वर्ष कोरोना भाइरसको महामारी बढेसँगै गुगलले नै सबैभन्दा पहिले कर्मचारीहरुलाई घरबाटै काम गर्न पाउने सुविधा प्रदान गरेको थियो । गुगलले अहिले तय गरेको नयाँ व्यवस्था अनुसार अब चार हप्ताभन्दा धेरै समय लगातार कार्यालयभन्दा बाहिरबाटै काम गर्नुपरेमा कार्यालयमा निवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति:     २५ बैशाख २०७८, शनिबार  |    Himali Khabar