लाइसेन्सको आवेदन दुई दिनमै बन्द

लाइसेन्सको आवेदन दुई दिनमै बन्द

काठमाडौं । खुलेको दुई दिनमै यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्रको आवेदन प्रणाली बन्द भएको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरिएको आवेदन यातायात व्यवस्था विभागको अनलाइन आवेदन प्रणाली सोमबार रातिबाट खुलेको थियो ।

नियमित रुपमा फारम भर्न सकिने भनिए पनि प्रणाली बन्द भएको भन्दै सेवाग्राहीले दुखेसो पोखेका छन् । विभाग स्रोतले भने प्राविधिक कारणले प्रणाली बन्द भएको बताएको छ । लाइसेन्स कार्यालयहरुको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिने बताएपनि विभागले सोवाग्राहीलाई महिनौंपछिको ‘एपोइन्मेन्ट’ मिति तोकेको थियो ।

त्यसअनुसार अहिले फारम भरेकाहरुले २०७९ को असारसम्मको ‘एपोइन्मेन्ट’ मिति पाइरहेका थिए । भक्तपुरको जगाति कार्यालयबाट लाइसेन्स लिन बिहीबार बिहान फारम भरेका एक सेवाग्राहीलाई २१ जुन २०२२को एपोइन्मेन्ट मिति दिइएको छ । एकान्तकुना लगायतका बढी चाप हुने यातायात कार्यालयले दिने मिति अझै पर पुगेको हुनसक्ने अनुमान छ ।

प्रकाशित मिति:     ११ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar