नागरिक उड्डयन प्राधिकरण टुक्रयाउन खोजिएकोमा कर्मचारीको आन्दोलन

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउन खोजिएकोमा कर्मचारीको आन्दोलन

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा जाने क्रममा रहेको र यसले हवाई सेवालाई महंगो बनाउनुका साथै स्वार्थ समुहको चलखेलले उड्डयन सुरक्षामा नै असर पर्ने भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । सोमवारदेखि शुरु गरिएको आन्दालनको कार्यक्रम बिहीबार सम्मका लागि सार्वजनिक गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष मिनप्रसाद खनालले युरोपियन युनियनले नेपाल लगायतका एसियन मुलुकमा व्यापार गर्ने उदेश्य राखेको र व्यापारीहरुको साँठगाँठमा संस्था नीजिकरण गर्ने बाटोमा लगिएको बताए। हवाई यातायात नियन्त्रक संघका अध्यक्ष श्यामकिशोर साहले प्रतिगामी विधेयकको संज्ञा दिदैँ राष्ट्रहित विपरितका विधेयक रोक्न सफल हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति:     २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar