नेपालका ८९ प्रतिशत जनताले उपयोग गर्छन इन्टरनेट सेवा

नेपालका ८९ प्रतिशत जनताले उपयोग गर्छन इन्टरनेट सेवा

काठमाडौं । नेपालको कुल जनसंख्याको ८९ प्रतिशतमा इन्टरनेट सेवाको पहुँचमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७–७८ को नौ महिनाको तथ्याङ्कअनुसार नेपालमा ८८.९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको छ ।

प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार चैत महिनासम्म दुई करोड ६८ लाख ८२ हजारभन्दा बढीकोे पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत फागुनको तुलनामा चैतमा पाँच लाख २६ हजार बढी प्रयोगकर्ता थपिएका छन् । गत फागुनमा दुई करोड ६३ लाख ५६ हजार बढी रहेका थिए ।

उक्त तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । चैतसम्म मोबाइल इन्टरनेटको हिस्सा ६५.३९ प्रतिशत छ । एक करोड १७ लाख ६० हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । त्यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९३ लाख ३५ हजार र एनसेलको २४ लाख २५ हजार रहेको जनाइएको छ ।

फोरजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेका छन् । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलका रहेका छन् । नौ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ५० लाख १७ हजार १७० पुगेका छन् । एनसेलमा एक महिनामा एक लाख ६० हजार ४२८ फोरजी ग्राहक थपिएका छन् । गत फागुनमा फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ रहेका थिए ।

प्रकाशित मिति:     १६ असार २०७८, बुधबार  |    Himali Khabar