कोरोना प्रभाव : पर्यटनसंग सम्बन्धित १७ प्रतिशत व्यवसाय सधैका लागि बन्द

कोरोना प्रभाव : पर्यटनसंग सम्बन्धित १७ प्रतिशत व्यवसाय सधैका लागि बन्द

काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धित १७ प्रतिशत व्यवसाय सधैका लागि बन्द भएको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको नेतृत्वमा भएको अन्ध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

काठमाडौं लिभिङ ल्याब्सले होटल एसोसिएसन नेपाल, ठमेल पर्यटन परिषदको सहकार्यमा पर्यटकीय क्षेत्र ठमेललाई केन्द्र बनाएर अध्ययन गरिएको जोशीले जानकारी दिए । अध्ययन प्रतिवेदनमा ८७ प्रतिशत व्यवसाय ऋणमा रहेको ९२ प्रतिशत व्यवसायमा कोरोनाका कारण ऋण थपिएको र ९५ प्रतिशत श्रमिकहरु मनोवैज्ञानिकरुपमा प्रभावित भएको उल्लेख छ ।

कोरोना महामारीका कारण ९४ प्रतिशत व्यवसाय बन्द भएको, ६५ प्रतिशत श्रमिकहरु बेरोजगार भएको प्रतिवेदनमा उल्लेख छ । साथै ९२ प्रतिशत श्रमिकहरु कोरोनाका कारण ऋणमा डुबेको उल्लेख छ । प्रतिवेदनमा ७७ प्रतिशत व्यवसाय अस्थायीरुपमा बन्द भएको र ६ प्रतिशत व्यवसाय कहिल्यै बन्द नभएको उल्लेख छ ।

प्रतिवेदन अनुसार ८० प्रतिशत व्यवसायीले यसबीचमा सञ्चालन खर्च समेत उठाउन सकेका छैनन् भने ३२ प्रतिशतले लगानी थप्ने योजना तत्कालका लागि स्थगित गरेका छन् । साथै ४३ प्रतिशत व्यवसायीले सन् २०२० को नेपाल भ्रमण वर्षका लागि लक्षित गरी लगानी थप गरेका थिए ।

प्रतिवेदनमा ९५ प्रतिशत व्यवसायीसँग चार महिनाका लागि पनि नपुग्ने बचत रहेको देखिएको छ भने ८७ प्रतिशतले पैसा सापटी लिएको देखिएको छ ।

यसबीचमा ३५ प्रतिशतले व्यवसाय नै बिक्री गर्न खोजेका थिए भने ६५ प्रतिशतले बिक्री गर्न नचाहेको देखिएको छ । तर बिक्री गर्न चाहेका ३५ प्रतिशतमध्ये पनि ९ प्रतिशत मात्रै सफल भएको २६ प्रतिशत असफल भएको देखिएको छ ।व्यवसायीमध्ये ६६ प्रतिशतले सहुलियत ऋण लिएको र ३४ प्रतिशतले धितो राखेर बैंक तथा वित्तीय संस्थामार्फत् कर्जा लिएको पाइएको छ ।

प्रकाशित मिति:     ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar