काठमाडौं उपत्यकामा निषेधाज्ञाले तरकारी उपभोग आधा घट्याे, किसानलाई मर्का

काठमाडौं उपत्यकामा निषेधाज्ञाले तरकारी उपभोग आधा घट्याे, किसानलाई मर्का

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाले हरियो तरकारीको उपभोग निकै घटेको छ । कालिमाटी तरकारी एवम् फलफुल बजारका अनुसार निषेधाज्ञा सुरु भएको दुई/तीन दिन सामान्य समयभन्दा बढी बिक्री वितरण भएको थियो ।

त्यसपछि घट्दै गएर अहिले आधामा झरेको छ । आवागमन कम , होटेल पार्टी प्यालेस बन्द भए र थुप्रै मान्छे काठमाडौँ छाडेर हिँडिसकेकाले एकाएक बिक्रीमा कमी आएको जनाइएको छ ।

कालिमाटीबाट पहिला दैनिक करिब नौ सय मेट्रिक टन तरकारी तथा फलफूल बिक्री हुन्थ्यो, अहिले चार सय मेट्रिक टनमा झरेको बताइएको छ । बिक्री वितरण कम हुँदा यसको सीधै असर किसानमा पर्छ । पोखरा, चितवन, बाँकेलगायतका जिल्लामा उत्पादन भएका तरकारी बिक्री नहुँदा खेतमै
कुहिरहेका छन् ।

तरकारीको मुख्य बिक्री केन्द्र कालीमाटीलगायत बल्खु, बागबजारको टुकुचा, बानेश्वर, तीनकुने, शान्तिनगर, जडीबुटी, च्यासललगायतका तरकारी बजारमा पनि बिक्री ह्वात्तै घटेको छ । बजारमा उपभोक्ता नै नआएपछि व्यापारीले पनि तरकारी ल्याउन छाडेको हो । व्यापारीले जति बिक्री हुन्छ त्यति नै बजारमा ल्याइरहेका छन् ।

बल्खु तरकारी तथा फलफूल बजारका सञ्चालक मोहनकुमार बस्नेतले ६० प्रतिशत बिक्री कम भएको बताए । बजारमा तरकारीको अभाव छैन, ग्राहकको अभाव भएको उनले बताए ।

प्रकाशित मिति:     २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar