चैत्र १५ देखि मेलम्चीको पानी उपत्यकाबासीको धारामा आउने

चैत्र १५ देखि मेलम्चीको पानी उपत्यकाबासीको धारामा आउने

काठमाडौं, २८ फागुन । सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण थाल्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने भएको हो ।

अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न थालिने छ । सुरुङ भरिन ३-४ दिन लाग्ने आयोजना प्रमुख तिरेश खत्रीले जानकारी दिए ।

सुरुङ भरिएपछि १० दिन जति पानी त्यसै छाडेर त्यसपछि भने सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा खसालिने छ । पानी प्रशोधन केन्द्रको परीक्षण गर्दै प्रशोधित पानी वितरण प्रणालीमा पठाइने खत्रीले बताए ।

चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुने छ ।तालिकाअनुसार आयोजनाले चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछ ।

प्रकाशित मिति:     २८ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar