हतियार राखेको आरोपमा वडा सदस्यसहित तीन जना पक्राउ

हतियार राखेको आरोपमा वडा सदस्यसहित तीन जना पक्राउ

खोटाङ । हतियार राखेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। घरमा अवैधरूपमा भरुवा बन्दुकसहित हातहतियार लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई सोमबार राति घरैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउमा वडा सदस्य परशुराम तथा उनका छिमेकी ६९ वर्षीय मदनबहादुर बानियाँ तथा ३३ वर्षीय मिलन बानियाँ रहेका प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरी हिरासतमा राखेर कारवाहीको प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।

प्रकाशित मिति:     १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar