चन्द्रागिरी ८ मा मापदण्ड विपरित धमाधम जग्गा प्लटिङ, वडा अध्यक्ष खड्का गैरजिम्मेवार

चन्द्रागिरी ८ मा मापदण्ड विपरित धमाधम जग्गा प्लटिङ, वडा अध्यक्ष खड्का गैरजिम्मेवार

काठमाडौं, २३ चैत । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं ८ मा मौलाएको मनोमानी जग्गा प्लटिङलाई रोक्नु भन्दा वडा अध्यक्ष सन्तोष खड्का गैरजिम्मेवार जवाफ दिदै पन्छिएका छन् । वडा ८ भित्र दर्जनौ स्थानमा कुनै पनि मापदण्ड नपुर्याई मनोमानी रुपमा जग्गा प्लटिङ गरी बेचबिखन भइरहेको छ । तर वडा अध्यक्ष खड्काले त्यसलाई नियमनमा ल्याउने आफ्नो कार्य नभएको भन्दै नगरपालिकालाई देखाएर पन्छिएका छन् ।

अरु त परको कुरा उनकै घर वरिपरि दर्जनौ स्थानमा जग्गा प्लटिङ गरिएको छ । त्यो पनि मापदण्ड विपरित यसमा पनि वडा अध्यक्षले आँखा चिम्लिएका छन् । उनले जग्गा प्लटिङको जिम्मेवारी वडाको नभई नगरपालिकाको भएकाले आफुले केही गर्न नसक्ने गैरजिम्मेवार जवाफ दिए । ‘जग्गा प्लटिङ वडाले हेर्दैन, स्विकृती पनि नगरपालिकाले दिन्छ, मापदण्ड पुगेको छ छैन पनि नगरपालिका र मालपोतका प्राविधिकहरु आएर नै हेर्ने गरेका छन्,’ उनले भने, ‘यसमा वडाको कुनै जिम्मेवारी हुँदैन, हामीलाई थाहा पनि हुँदैन ।’

तपाई त्यहाँको जनप्रतिनिधिले मापदण्ड विपरित भएको कार्य रोक्न पहल त गर्न सक्नु हुन्छ नी भन्ने प्रश्नमा उनले यो वडाको कर्याक्षेत्र भित्र नपर्ने भएकाले आफुले केही गर्न सक्ने अवस्था नरहेको भन्दै नगरपालिकामा सम्पर्क गर्न भने ।

तर नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले वडा भित्र हुने कार्यको वडा अध्यक्षलाई जानकारी नै नहुने भन्ने कुरा गलत भएको बताएका छन् । उनले प्लटिङको लागि नगरपालिकामा आवेदन परेपछि नगरपालिकाले नै स्विकृत दिने भएपनि वडासँग भने परामर्श गर्ने गरेको जानकारी दिए । ‘वडा भित्र हुने कामको लागि स्विकृती दिदा नगरपालिकाले वडा अध्यक्षलाई नै जानकारी नगराउने भन्ने त हुँदै हुँदैन । प्लटिङका लागि आवेदन परेपछि स्विकृती दिनु अघि नै सम्बन्धित वडा अध्यक्षसँग परामर्श गरेर मात्र स्विृकती दिइन्छ ।’ उनले भने ।

प्रवक्ता महर्जन वडा नं ११ का अध्यक्ष समेत हुन ।

प्रवक्ताकै जवाफबाट पनि प्रष्ट हुन्छ वडा अध्यक्ष खड्काले आफ्नो वडा भित्रको प्लटिङ विषयमा गैरजिम्मेवार जवाफ दिएर उम्कने बाटो मात्र खोजेका हुन । स्थानीय जनप्रतिनिधि खड्का यती गैरजिम्मेवार बन्नुमा जग्गा प्लटिङ गराउनेहरुसँग उनको राम्रो उठबस रहेको स्थानीयको आरोपलाई थप बल पुर्याएको छ ।

यस वडा भित्र भएका कुनै पनि प्लटिङमा मापदण्ड अनुरुप छैन । मापदण्ड अनुरुप बिजुलीको पोल हुनुपर्ने, ढलको उचित प्रबन्ध हुनुपर्ने, २० फुटको बाटो हुनुपर्ने र बाटो पनि कालोपत्रे हुनुपर्ने छ । यस्तै वनसँग जोडिएको जग्गाको हकमा वन भन्दा १३ मिटर टाढा हुनुपर्ने भएपनि यी कुनै मापदण्ड नपुर्याई प्लटिङ गरेर जग्गा बेचबिखन भइरहेको छ ।

प्रकाशित मिति:     २३ चैत्र २०७७, सोमबार  |    Himali Khabar