बेलकोटगढी नगरपालिकाले ऐन विपरित ३० कर्मचारी करारमा राखेर राज्य कोषको करिब १ करोड भुक्तानी

बेलकोटगढी नगरपालिकाले ऐन विपरित ३० कर्मचारी करारमा राखेर  राज्य कोषको करिब १ करोड भुक्तानी

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन विपरित विभिन्न पदमा ३० जना कर्मचारी करारमा राखेर करिब एक करोड रुपैयाँ भुक्तानी गरेको पाइएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझाको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्तुत गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ ।

तर नगरपालिकाले उक्त ऐन, नियमलाई लत्याउँदै ३० जना कर्मचारी नियुक्त गरेर आर्थिक वर्ष २०७६–०७७ मा ९७ लाख ४५ हजार १ सय २४ रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

जबकी नगरपालिकामा कार्य व्यवस्थापनका दृष्टिकोणले महत्वपूर्ण मानिएका अधिकृत, इन्जिनियर, जनस्वास्थ्य अधिकृत लगायतका १५ पद खाली छ । दरबन्दी अनुसार कर्मचारी कार्यसम्पादनमा समेत समस्या भएको बताइएको छ । रिक्त पदहरुमा यथाशक्य छिटो पदपूर्ति गर्न महालेखाले भनेको छ । दरबन्दी अनुसार कर्मचारी नियुक्त गरेर सेवालाई प्रभावकारी बनाउने भन्दा पनि आफ्ना मेयर र उपमेयरको नजिककालाई पोस्ने नियतले गर्दा सेवाग्राहीले दुख पाइरहेको गुनासो छ ।

प्रकाशित मिति:     ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar