म्यानहोलबाट पानी चुहिएपछि माथिल्लो तामाकोशीको परीक्षण रोकियो

म्यानहोलबाट पानी चुहिएपछि माथिल्लो तामाकोशीको परीक्षण रोकियो

दोलखा । सुरुङ तथा पेनस्टक परीक्षणको क्रममा रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको म्यानहोल (मानिस काम गर्न पेनस्टकमा पस्ने प्वाल) बाट पानी चुहिएको छ ।

सुरुङमा पानी पठाई करिब ६०० मिटरसम्म हेडमा पानी भर्दा म्यानहोलबाट पानी चुहिएको हो । म्यानहोलबाट पानी चुहिएपछि परीक्षण रोकी म्यानहोलहरुको मर्मत सम्भार कार्य भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए ।
तीन वटा म्यानहोलको निरीक्षण तथा मर्मत सम्भार शुक्रवारसम्ममा सकिने प्रवक्ता न्यौपानेको भनाइ छ । म्यानहोल तथा गेटको निरिक्षण तथा मर्मत पश्चात आइतवारबाट सुरुङ तथा पेनस्टकमा पानी पठाई पुनः परीक्षण सुचारु गरिने आयोजनाले बताएको छ ।

सुरुङ तथा पेनस्टकमा पानी भर्ने काममा कुनै समस्या नआएमा जेठ अन्तिममा विद्युत् उत्पादनको परीक्षण गर्न सकिने प्रवक्ता न्यौपानेले बताए । आयोजनाको प्रसारण लाइन अन्तर्गत सिंगटीमा भाँचिएको टावरको निर्माण कार्य भइरहेको छ । यस्तै दोलखाको सहरेमा बाँकीरहेको मल्टिसर्किट टावरको निर्माण सकिई तार तान्ने चरणमा पुगेको छ ।

प्रकाशित मिति:     ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar