कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद

कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्ग्याएको छ ।

क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन हिजो पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको नेता डा मीनेन्द्र रिजालले जानकारी दिए ।

प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझाउनुभएको हो ।

केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते क्रियाशील सदस्यता विवरणको अधिकांश कार्य सम्पन्न गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरी प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्य पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्यद्वय रिजाल र लेखकलाई जिम्मेवारी तोकेको थियो ।

सोही केन्द्रीय समिति बैठकले यही भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको थियो तर क्रियाशील सदस्यताको विवाद समयमै निरुपण हुन नसकेका कारण आज मात्रै सभापति देउवालाई प्रतिवेदन बुुझाइएको हो ।

प्रकाशित मिति:     ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar