कांग्रेसको १४ औं महाधिवेशन ९ दिन पर सर्‍यो

कांग्रेसको १४ औं महाधिवेशन ९ दिन पर सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सरेको छ । कांग्रेस पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय थियो । आज बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै केन्द्रीय महाधिवेशनको मिति ९ दिन पर सारेको हो ।

संशोधित कार्यतालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने उल्लेख छ । त्यस्तै केन्द्रीय समितिले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने छ ।

प्रकाशित मिति:     २९ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar