काठमाडौं-दुबई डिसेम्बर ५ बाट साताको नौ उडान हुने

काठमाडौं-दुबई डिसेम्बर ५ बाट साताको नौ उडान हुने

काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौं-दुबई उडान संख्या थपेको छ। हाल साताको सातवटा उडान गर्दै आएको निगमले आउँदो डिसेम्बर ५ बाट यसलाई नौवटा पुर्‍याउने जानकारी दिएको छ।

कोभिडअघि पनि यो गन्तव्यमा निगमले साताको सातवटा उडान गर्दै आएको थियो। तर पछिल्लो समय काठमाडौं-दुबई दुईतर्फी उडानमा यात्रुको माग बढेसँगै निगमले थप दुईवटा उडान थपेको जनाएको छ। यस गन्तव्यका लागि निगमले सुरुवाती एकतर्फी भाडा ३४ हजार रुपैयाँ र दुईतर्फी भाडा ५४ हजार रुपैयाँ निर्धारण गरेको छ।

निगमका अनुसार थपिएका दुईवटा उडान आइतबार र बुधबार बिहान १०:०० बजे हुनेछ। हाल यो गन्तव्यमा साताको हरेक दिन राती मात्र उडान हुँदै आएको छ।

प्रकाशित मिति:     १० मंसिर २०७८, शुक्रबार  |    Himali Khabar