नेपाल वायुसेवा निगम निजीकरण निन्दनीय र घृणित कार्य : डा. भट्टराई

नेपाल वायुसेवा निगम निजीकरण निन्दनीय र घृणित कार्य : डा. भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान कामचलाउ ओली सरकारबाट हुन गइरहेको प्रपञ्‍च अत्यन्त निन्दनीय र घृणित रहेको बताएका छन् ।

आज एक सार्वजनिक अपील जारी गर्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले निगम निजीकरणको भित्री अभीष्ट भनेको ओली नजिकका दलाल पुँजीपतिहरुलाई नै संस्थान पोष्नु रहेको उल्लेख गरेका छन् । ‘क्रोनी क्यापिटालिज्म (दलाल पुँजीवाद) को योभन्दा नग्‍नरुप अरु के हुन सक्छ ?’ प्रश्न गर्दै भट्टराईले अपीलमा भनेका छन् ।

‘आफू सरकारमा रहने अनि आफैले उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेहरुलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरु नियुक्त गर्ने, तिनीहरुबाट हुने नहुने अनेकौं क्रियाकलापहरु गराउने र संस्थानलाई धरासायी तुल्याएपछि संस्थान चलेन भनेर संस्थानको बचेखुचेको सम्पत्तिलाई कौडीको मूल्यमा निजीकरणको नाममा आफ्ना निकटस्थ दलालहरुलाई बिक्री गर्ने जुन षड्यन्त्र भइरहेको छ, त्यो कुनै पनि हालतमा नेपाली जनतालाई सह्य छैन ।’

प्रकाशित मिति:     २७ असार २०७८, आईतवार  |    Himali Khabar