मन्त्रालयको निर्देशन अनुसार नै निगमको पुनर्संरचना गर्न नियमावलीको मस्यौदा तयार

मन्त्रालयको निर्देशन अनुसार नै निगमको पुनर्संरचना गर्न नियमावलीको मस्यौदा तयार

काठमाडौं । नेपाल वायु सेवा निगम व्यवस्थापनले अर्थ मन्त्रालयको निर्देशन पालना गर्दै निगमको पुनर्संरचना गर्न प्रबन्धपत्र र नियमावलीको मस्यौदा तयार गरिएको जनाएको छ । निगमले बुधबार विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा नै भएको व्यवस्थाअनुसार अर्थ मन्त्रालयले रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाका लागि अवधारणा पत्र पेस गर्न दिएको निर्देशनअनुसार नै गरिएको उल्लेख गरेको हो ।

निगममा रणनीतिक साझेदार भित्र्याउने सरकारको प्रयास रहे पनि यसलाई निजीकरण गर्न लागिएको आरोप लाग्न थालेको छ। निगमले भने निजीकरणको प्रयास नभई रणनीतिक साझेदार भिœयाउन कम्पनीको पुनर्संरचना गर्न प्रबन्धपत्र र नियमावलीको मस्यौदा तयार गरी बुझाइएको जनाएको छ । अर्थ मन्त्रालयले असार १५ भित्र मस्यौदा पेस गर्न दिएको निर्देशनअनुसार निगम सञ्चालक समितिले असार १० गते उपसमिति गठन गरी मस्यौदा तयार गरिएको निगमले उल्लेख गरेको छ।

त्यसरी तयार गरिएको मस्यौदा असार १३ गते निगम व्यवस्थालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई बुझाउन सञ्चालक समितिले निर्देशन दिएको पनि विज्ञप्तिमा जनाइएको छ । उक्त मस्यौदा निगम व्यवस्थापनलाई नभई अर्थ मन्त्रालयको निर्देशनअनुसार मन्त्रालयलाई नै बुझाइएको निगमले स्पष्ट पारेको छ ।

प्रकाशित मिति:     २४ असार २०७८, बिहीबार  |    Himali Khabar