वैशाख १० गते लुम्बिनीमा भब्य समारोहसहित बुद्धजयन्ति मनाईंदै, प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि

वैशाख १० गते लुम्बिनीमा भब्य समारोहसहित बुद्धजयन्ति मनाईंदै, प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि

रूपन्देही । लुम्बिनी विकास कोषले २५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस भब्य रुपमा मनाउने तयारी गरेको छ । आगामी जेठ १० गते बुद्धजयन्ती एवं लुम्बिनी दिवस समारोहको प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कोषले औपचारिक निमन्त्रणा गरेको छ । प्रमुख अतिथि र विशिष्ठ अतिथिहरुलाई निमन्त्रणा दिइरहेको कोषले विशेष समारोहको तयारी पनि तिब्र पारिरहेको कोषका कार्यकारी सदस्य श्याम रोक्काले जानकारी दिए ।

कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले बिहिबार प्रधान्मन्त्री प्रचण्डलाई भेटी औपचारिक रुपमा प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिसक्नुभएको छ । उपाध्यक्ष लामाले प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछानेलाई भेटी बुद्धजयन्तीका अवसरमा आयोजना हुने विशेष समारोहका लागि निमन्त्रणा गरिसक्नुभएको कार्यकारी सदस्य रोक्काले जानकारी दिए ।

निमन्त्रणाका लागि उपाध्यक्ष लामासहित कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, वरिष्ठ निर्देशक ज्ञानिन राई, प्रशासन शाखाका नमराज अधिकारी सहभागी रहेका थिए ।


बुद्वजयन्ती एवम् लुम्बिनी दिवसलाई व्यवस्थित बनाउनका लागि कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री हितबहादुर तामाङको अध्यक्षतामा ५६८ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाउनका लागि ९ वटा विभिन्न उपसमितिहरुले पनि काम गरिरहेका छन् ।

दिवसका अवसरमा प्रधानमन्त्री सहित, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ एवं लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, विभिन्न देशका राजदुूत लगायतका उच्च ओहोदा व्यक्तिहरुलाई कोषले निमन्त्रणा गरिसकेको छ ।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन बुद्धजयन्तीसँगै लुम्बिनी दिवस भब्य रुपमा मनाउने गरिन्छ । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत तिलौराकोट, रामग्राम र देवहदमा पनि विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाउन लागिएको कार्यकारी सदस्य रोक्काले जानकारी दिए ।
लुम्बिनीमा विस २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भएपछि बुद्धजयन्तीकै दिन सरकारले लुम्बिनी दिवस पनि मानाउन थालेको हो ।

विभिन्न बौद्ध मुलुकहरूको विशेष पहलमा १९९९ देखि संयुक्त राष्ट्रसंघसमेत अन्तराष्ट्रिय रुपमै बुद्धजयन्तीलाई मान्यता प्रदान गरी ‘वैशाख डे’ का रुपमा विश्वभर रहेका आफ्ना सबै कार्यालयहरूमा बुद्धजयन्ती मनाउन बिदा दिँदै आएको छ ।
नेपालसहित भुटान, म्यानमार, लावस, श्रीलंका लगायतका देशमा बुद्धजयन्ती भब्य रुपमा मनाउने चलन छ । कोषले बुद्ध धर्मावलम्बी देशका नागरिकलाई पवित्र तिर्थस्थल लुम्बिनीमा ल्याउने वातावरण तयार पार्न विभिन्न कार्यक्रम र रणनीतिक योजना समेत बनाइरहेको छ ।

प्रकाशित मिति:     २८ बैशाख २०८१, शुक्रबार  |    Himali Khabar