रोयल डिप्लोम्याट क्लव अफ युनाइटेड नेशन्सको कल्चरल एन्ड टुरिजम एम्बास्डरमा पौडेल नियुक्त

रोयल डिप्लोम्याट क्लव अफ युनाइटेड नेशन्सको कल्चरल एन्ड टुरिजम एम्बास्डरमा पौडेल नियुक्त

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवम् गाउँले पर्यटन–नेपाल (भिटोन) का अध्यक्ष तेजेन्द्र शर्मा पौडेल ईन्टरनेशनल रोयल डिप्लोम्याट क्लव अफ द युनाइटेड नेशन्सको कल्चरल एन्ड टुरिजम एम्बास्डरमा नियुक्त हुनुभएको छ ।

रोयल डिप्लोम्याट क्लव विभिन्न अन्तर्राष्ट्रिय कूटनीतिक क्लबहरू, संसदहरू, राष्ट्रपति, शाही परिवार र सबै देशहरूका कूटनीतिक नियोगहरू, युरोपेली संसद, युनिसेफ, युनेस्को, संयुक्त राष्ट्र संघसँग सहकार्य गर्ने अन्तर्राष्ट्रिय सञ्जाल हो ।

एम्बास्डरमा नियुक्त भएसँगै मुलुकको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास छ । क्लव अन्तर्गत हुने विभिन्न सभा, सम्मेलन र गोष्ठिहरु मार्फत आफूले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने खालका कामहरु गर्ने पौडेलले जानकारी दिनुभयो । नेपालको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा रहेको कमजोरीका कारण पर्यटनबाट आशातित लाभ लिन नसकेको अवस्थामा यस्ता मञ्चहरुले त्यो खाडल पुर्ने काम गर्ने उहाँको विश्वास छ ।

उहाँ तीन दशकदेखि पर्यटनमा क्रियाशिल हुनुहुन्छ । उहाँले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाको विभिन्न जिम्मेवारीमा रहेर मुलुकको पर्यटन विकासमा काम गर्नुका साथै स्वदेशमै पनि ग्रामिण पर्यटन प्रवद्र्धन र नयाँ नयाँ गन्तव्यहरुको खोजीमा लागिरहनु भएको छ ।

प्रकाशित मिति:     २० चैत्र २०७९, सोमबार  |    Himali Khabar