पतिसरह पारिश्रमिक मागेपछि दीपिका ‘बैजु बावरा’बाट बाहिरिइन्

पतिसरह पारिश्रमिक मागेपछि दीपिका ‘बैजु बावरा’बाट बाहिरिइन्

मुम्बई । निर्देशक सञ्जयलीला भन्सालीको चलचित्र ‘बैजु बावरा’बाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छिन् । यो त्यही चलचित्र हो, जसमा दर्शकले ‘रियल कपल’ दीपिका र रणवीर सिंहलाई एकसाथ ‘रिल’मा देख्ने आशा गरेका थिए । यद्यपि, दर्शकको यो चाहना अब पूरा नहुने देखिएको छ ।

बलिउड हंगामाका अनुसार दीपिकाले पति रणवीरसरह पारिश्रमिकको माग गरेपछि उनी चलचित्रबाट बाहिरिएकी हुन् । एक स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले लेखेको छ, “दीपिका आफ्नो पतिको जतिकै पारिश्रमिक चाहन्छिन्, न एक पैसा बढी न एक पैसा कम ।” अभिनेता र अभिनेत्रीले समान पारिश्रमिक पाउनुपर्ने भन्दै दीपिकाले अभिनेतासरह पारिश्रमिक माग गरिरहेकी छिन् ।

यद्यपि, योपटक भन्सालीले दीपिकाको समान पारिश्रमिकको प्रस्ताव अस्वीकार गरेका छन् । यसअघि, दीपिका र रणवीरलाई ‘अनस्क्रिन रोमान्स’मा ल्याउने निर्देशक पनि भन्साली नै थिए । उनको ‘रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्दमावत’मा दीपिका र रणवीरले स्क्रिन सेयर गरेका थिए ।

यसअघि, अभिनेत्री करिना कपुर खानले पनि १२ करोड भारु पारिश्रमिक माग गरेकै कारण चलचित्रबाट बाहिरिनुपरेको थियो ।

प्रकाशित मिति:     २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar