स्वास्थ्य राज्यमन्त्रीले सरकारी सुविधा नलिने

स्वास्थ्य राज्यमन्त्रीले सरकारी सुविधा नलिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले बताए । ‘स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म संलग्न नहुने यसै प्रतिवद्धतापत्रमार्फत सार्वजनिक गर्न चाहन्छु,’ राज्यमन्त्री श्रेष्ठले भने ।

हालसम्म आफू संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनी रूपमा नै त्याग गरिसकेको उनले बताए । शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठ १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति:     १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar