कोरोनाको तेस्रो लहरको तयारीका लागि सरकारलाई विज्ञले दिए १८बुँदे सुझाब

कोरोनाको तेस्रो लहरको तयारीका लागि सरकारलाई विज्ञले दिए १८बुँदे सुझाब

काठमाडौं । स्वास्थ्यविद्हरूले कोरोना महामारी व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि सरकारलाई सुझाब दिएका छन्। नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८बुँदे सुझाब दिएको हो। उनीहरूले योग्य, क्षमता, सत्यनिष्ठ र इमानदार छवि भएका व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्रीमा नियुक्त गर्न भनेका छन्। उनीहरूले मन्त्रिपरिषद् फेरबदल हुँदा पनि स्वास्थ्यमन्त्री नफेरिने गरी योग्य व्यक्तिलाई नियुक्ति गर्न आग्रह गरेका छन्।

कोरोना रोकथामका लागि लकडाउन र सचेतनाका उपाय मात्र पर्याप्त नभएको भन्दै उनीहरूले उपचारका लागि स्वास्थ्य प्रणालीको क्षमतालाई अधिकतम स्तरमा बढाउन आवश्यक भएको बताएका छन्। १८ वर्षभन्दा माथिकालाई यथाशीघ्र खोप लगाउन आग्रह गर्दै खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारी सहयोगमा संलग्न गराउन भनेका छन्।

अस्पतालमा बेड, एचडियू, आइसियू र भेन्टिलेटरको संख्या बढाउन विज्ञहरूको सुझाब छ। सिमानामा रहेका जनतालाई आवागमनको अनुगमन गर्न आधारभूत सुविधासहितको होल्डिङ सेन्टर स्थापना गर्न उनीहरूको सुझाब छ। अक्सिजन उत्पादनमा वृद्धि गर्न र स्थानीय तहमा अक्सिजन बैंक स्थापना गर्न उनीहरूले भनेका छन्।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar