काँग्रेसमा क्रियाशील सदस्यता छानबिन सुरु

काँग्रेसमा क्रियाशील सदस्यता छानबिन सुरु

काठमाडौं । १४ औं महाधिवेशनको तयारीमा रहेको नेपाली काँग्रेसले त्यसका लागि आजदेखि क्रियाशील सदस्यता छानबिन सुरु गर्दै छ । शनिबार बसेको शीर्ष नेतासहितको केन्द्रीय पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेपछि कांग्रेसभित्र महाधिवेशनको सरगर्मी पनि सुरु भएको हो ।

संशोधित कार्यतालिका अनुसार असार मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउनुपर्ने समयसीमा छ । पार्टीको स्थानीयदेखि केन्द्रीय नेतृत्वसम्म चयन प्रक्रिया सुरु गर्नुअघि क्रियाशील सदस्यता टुंग्याउनुपर्ने कांग्रेसको वैधानिक व्यवस्था हो ।

१३औं महाधिवेशनमा पाँच लाख क्रियाशील सदस्य थिए । क्रियाहिल सदस्यतालाई लिएर हरेक महाधिवेशनमा विवाद हुँदै आएको छ । क्रियाशील सदस्यमार्फत् नै वडादेखि केन्द्रीय नेतृत्वसम्म चयन हुने गर्छन्। क्रियाशील सदस्यबाटै पार्टीका महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । तिनीहरुले नै केन्द्रीय नेतृत्व छनौट गर्ने भएकाले महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न कांग्रेसमा क्रियाशील सदस्यतामै चलखेल हुने गर्छ ।

१३औं महाधिवेशनमा क्रियाशील सदस्यता विवाद सुल्झाउन झण्डै ६ महिना लागेको थियो । बिहीबारको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले समय अपुग हुने भन्दै थप समय मागेका थिए । त्यसपछि क्रियाशील सदस्यता टुंग्याउन समितिले असार मसान्तसम्मको समय पाएको छ ।

प्रकाशित मिति:     ४ असार २०७८, शुक्रबार  |    Himali Khabar