एनआरएनएमा उदाउँदो युवा, माल्टाको अध्यक्षमा २७ बर्षे गिरीको मनोनयन दर्ता

एनआरएनएमा उदाउँदो युवा, माल्टाको अध्यक्षमा २७ बर्षे गिरीको मनोनयन दर्ता

काठमाडौं । गैरआवासिय नेपाली संघ एनआरएनए माल्टाको अध्यक्षमा निवर्तमान महासचिव एवं युवा अभियन्ता रोशन गिरीले मनोनयन दर्ता गराएका छन् । आगामी कार्यकाल२०२३-२०२५ का लागि २७ वर्षिय गिरीले उम्मेदवारी दर्ता गरेका हुन् ।

गिरी संभवत एनआरएनए ईतिहासकै कान्छा अध्यक्ष बन्ने दौडमा छन् । एनआरएनए माल्टाको शुरुवाती दिनदेखि नै अभियानमा जोडिएका गिरी संस्थापक युवा संयोजकका रुपमा काम गरिसकेका छन् । भुवन अर्याल नेतृत्वको टीममा महासचिवका रुपमा आफुलाई अब्बल तुल्याएका गिरीले यस अघिका अनुभव र कार्यक्षमताको मुल्यांकन गरिदिन माल्टाबासी नेपालीमा अपिल समेत गरेका छन् ।

गिरीले माल्टावासी नेपालीको हक,हित स्थापित गरि नेपाली समुदायको पहिचान र माल्टामा आइपर्ने जस्तासुकै समस्या सामुहिक पहलमा समाधान गर्न आफु नेतृत्वमा आउन लागेको बताएका छन् । उनले भनेका छन- ‘यस अघिका कार्यकालमा विभिन्न पदमा रहेर हासिल गरेको अनुभवलाई नेतृत्वका रुपमा अव कार्यान्वयनमा लैजानका लागि उम्मेदवारी दिएको छु, आउँदो कार्यकाल म यहाँहरुको साथ र समर्थनसहित यहाँहरुकै सेवामा रहनेछु’
विद्यार्थीका रुपमा माल्टा पुगेका गिरी लामो संघर्ष र निरन्तरको मेहनतले नेतृत्वतहमा उदाउन लागेका हुन् । अध्यक्षमा निर्वाचित भए गिरी विश्वकै कान्छा एनआरएनए अध्यक्ष हुने छन् भने गिरी नेतृत्वको एनआरएनए माल्टाको कामप्रति विश्वभरका नेपालीको नजर पर्ने छ । यसले एनआरएनए माल्टाको ईतिहास निर्माण समेत हुने छ । गिरीलाई निवर्तमान अध्यक्ष अर्यालसहित कार्यसमितिका अधिकांश र अघिल्ला कार्यसमितिका अधिकांश पदाधिकारीको समेत समर्थन छ ।

आइसीसीमा अर्यालको उम्मेदवारी

यसैगरि निवर्तमान अध्यक्ष अर्याल आइसीसी सदस्यमा उम्मेदवार बनेका छन् । अध्यक्षका रुपमा एनआरएनए माल्टालाई चलायमान बनाएका अर्यालले अब एनआरएनए अभियानको विश्वमञ्चमा काम गर्ने तयारी गरेका छन् । अर्यालसँगै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष नविन गिरीसहितले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति:     ६ श्रावण २०८०, शनिबार  |    Himali Khabar