इजरायलबाट एक हजार नेपाली कामदारको माग

इजरायलबाट एक हजार नेपाली कामदारको माग

काठमाडौं । इजरायलमा केयरगिभरको रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामान्य अवस्था रहेमा अबको एक/डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिए । मागअनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृतिको अनुुमतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने छ ।

महानिर्देशक दवाडीले इजरायल र नेपालबीच भएको समझदारीमा पहिलो चरणमा पाँच सय जना मात्रै प्रशिक्षार्थी लैजाने भनिएकाले विज्ञापन गर्दा एक हजारको गर्ने कि पाँच सय भन्ने टुङ्गो नलागेको बताए । विभागले विज्ञापन खुलाउन आएको मागअनुसार नै खुलाउन अनुुमति माग्ने तर सबै टुङ्गो पनि विज्ञापनको अनुमतिपत्रमै आउने विश्वास छ । केयरगिभरमा इजरायल जानका लागि २१ दिनको म्याद राखेर आवेदन खुल्नेछ र आवेदन माग गर्दा तोकिएको योग्यता पुगेका आवेदकले आवेदन दिन सक्नेछन् ।

नेपाल र इजरायल सरकारबीच बीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता सम्पन्न भएको थियो ।

प्रकाशित मिति:     ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar