निर्यात सहजीकरण र उद्योगमा रोजगारी सिर्जनाका लागि महासंघले थाल्यो पहल

निर्यात सहजीकरण र उद्योगमा रोजगारी सिर्जनाका लागि महासंघले थाल्यो पहल

काठमाडौं । निर्यात व्यवसायी महासंघले नीतिगत सुधार र निर्यात उद्योगमा रोजगारीको अवसर बढाउन युएसएआइडी सँग सहकार्य गर्ने भएको छ । आज काठमाडौंमा महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डे र युएसएआइडीकी व्यापार प्रमुख एग्नेस लुजबीच एमओयुमा हस्ताक्षर भएको हो ।

नेपालबाट हुने निर्यातलाई दिगो र विश्वबजारमा प्रतिस्पर्धात्मक बनाउन एमओयुले सहयोग पुग्ने अध्यक्ष पाण्डेले बताए । नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनामा पनि सहयोग पुग्ने पाण्डेले बताए । युएरएआइडी सँगको सहकार्यले निर्यातबारेको नीतिगत सुधारका एजेन्डालाई अगाडि बढाउन मद्दत गर्ने अपेक्षा गरिएको व्यवसायीले बताएका छन् । साना र मझौला प्रकृतिका उद्योगको स्तरोन्नतिका लागि र नयाँ ब्यापारका अवसरका लागि सहमति महत्वपुर्ण हुने भन्दै निर्यात व्यावसायी उत्साहित छन् ।

सहमतिमा मुख्यगरी बजारमा आधारित वित्तीय र गैर-वित्तीय सेवाहरूमा पहुँच सुधार गर्ने उल्लेख छ । यस्तै उच्च रोजगारीको सम्भावना भएका क्षेत्रहरूमा उत्पादकत्व वृद्धि गर्ने र लगानीको वातावरण र व्यापारका लागि उपयुक्त अवस्था निर्माणका लागि नीतिगत सुधारमा केन्द्रीत हुनेगरी कार्यक्रम ल्याउन दुबै पक्ष सहमत भएको अध्यक्ष पाण्डेले जानकारी दिए । निर्यातजन्य उद्योगमा कार्यरत श्रमिकका लागि समयानुकुल तालिम र र नीतिगत सुधारका लागि सरोकारवालासँग छलफललाई तिब्रता दिन दुबै पक्ष सहमत भएका छन् ।
सहमतिमा हस्ताक्षरपछि श्रमिकको शिप विकास र नीतिगत सुधारका लागि महत्वपुर्ण कदम चाल्न सकिने भन्दै अध्यक्ष पाण्डेले निर्यातलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए ।

प्रकाशित मिति:     ४ असार २०८०, सोमबार  |    Himali Khabar