कोभिड प्रभावित पर्यटन चलायमान बनाउन सरकार किन उदासीन ?

कोभिड प्रभावित पर्यटन चलायमान बनाउन सरकार किन उदासीन ?

काठमाडौं, १६ फागुन । कोरोनाबाट प्रभावित नेपालको पर्यटन क्षेत्र चलायमान बनाउन सरकार अग्रसर नभएको व्यवसायीहरूको आरोप छ । कोरोनाका कारण प्रभावित पर्यटन क्षेत्र अझसम्म पनि लयमा फर्कन सकेको छैन । पर्यटन व्यवसायलाई चलायमान बनाउन सरकार उदासीन भएको पर्यटन व्यवसायीको आरोप छ ।

७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर नेपाल भ्रमणमा आउने पर्यटकको हकमा अहिले लागू भएको क्वारेन्टाइनको व्यवस्था पूर्ण रूपमा नहटाइँदासम्म पर्यटक आगमन प्रभावित हुने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना जाँचको मेसिन राख्ने र तोकिएको स्वास्थ्य निकायबाट नमुना संकलन गर्नु पर्ने व्यवस्था गर्दै पर्यटकलाई सहज रूपमा नेपाल आउन सक्ने वातावरण तयार पार्नुपर्ने सुझाव उनले दिए ।

सरकारले नै लाखौं जनता सकडमा उतारेर आमसभा गरेको, तर पर्यटन व्यवसायमा भने स्वास्थ्य प्रोटोकलको नाममा अव्यावहारिक निर्णय लादेर व्यवसायीलाई निराश बनाएको नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाइँको आरोप छ । पर्यटन पुनरुत्थानका लागि विभिन्न ३७ पर्यटकीय संघसंस्थाले संयुक्त रूपमा १० बुँदे माग पेश गरेको भन्दै सरकारले तत्काल त्यसलाई सम्बोधन गरी व्यवसाय चलायमान बनाउनुपर्ने उनको धारणा छ ।

व्यवसायीहरूले नेपाल र चीनबीचको सीमा नाकाहरू तत्काल खुला र नेपाल भ्रमणमा आउने विदेशीले विदेशमै बीमा गरेर आउने हुँदा कम्तीमा ५ हजार डलर बराबरको कोरोना बीमा गर्नुपर्ने व्यवस्था पनि हटाउन पनि सरकारलाई सुझाएका छन् । आफूहरूले सरकारले जारी गरेको सुरक्षा निर्देशिकाअनुसार सेवा दिने भन्दै पर्यटक आउने बाटो भने बन्द गर्न नहुने होटल संघ नेपाल (हान)का उपाध्यक्ष विनायक शाहले बताए ।

सरकारले अक्टोबर १७ देखि पदयात्रा तथा पर्वतारोहण पर्यटन खुला गर्ने निर्णय गरेको भएपनि सुरक्षा निर्देशिकाको कारण अझै पनि यो क्षेत्र चलायमान हुने नसकेको व्यवसायीको निष्कर्ष छ । पर्यटनको सिजन सुरु भएसँगै होटल बुकिङ बढ्न थालेको भए पनि स्वास्थ्य निर्देशिकाको कारण पर्यटक आउनबाट पछि हट्न सक्ने भएकाले तत्काल ध्यान दिन व्यवसायीको सुझाव छ ।

संसारभरि नै महामारीका कारण सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्यटन उद्योग रहेको छ । वायुसेवा, होटल क्षेत्र, यातायात र रेष्टुराँजस्ता पर्यटनसँग जोडिएका क्षेत्रहरू शिथिल भएका छन् । अहिले देखि नै वातावरण सहज बनाउँदै लैजाने हो भने सन् २०२२ सम्म पर्यटन क्षेत्र लयमा फर्कन सक्ने व्यवसायीको अनुमान छ ।

माओवादी द्वन्द्वयता वार्षिक रूपमा बढ्दो क्रममा रहेको नेपालको पर्यटन आगमन कोरोना महामारीका कारण सन् २०२० मा इतिहासकै कम पर्यटक आएका हुन् । सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएकामा सन् २०२० मा घटेर २ लाख ३० हजार ८५ पर्यटक मात्रै नेपाल भित्रिएका थिए, जुन अघिल्लो वर्षको भन्दा ८१ प्रतिशतले कमी हो ।

तर कोरोना केही मत्थर हुँदै गएकाले सन् २०२१ को पहिलो महिनामा भने पर्यटक आगमनमा वृद्धि देखिएको छ । अध्यागमन विभागका अनुसार जनवरीमा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar