सबै फोनमा एउटै चार्जर राख्ने ईयूको प्रस्ताव

सबै फोनमा एउटै चार्जर राख्ने ईयूको प्रस्ताव

काठमाडौं । युरोपेली कमिसनले फोन निर्माताहरुलाई एकै किसिमको चार्जर लाग्ने फोन निर्माणको लागि निर्देशन दिने प्रस्ताव गरेको छ । उपभोक्तालाई पुरानै चार्जर प्रयोगमा प्रेरित गर्दै विद्युतीय फोहोर कम गर्ने उद्देश्यका साथमा यस्तो योजना अघि सारिएको हो । यद्यपि आईफोन निर्माता एप्पलले भने यो कदमले नयाँ आविष्कारमा नकारात्मक असर गर्न सक्ने चेतावनी दिएको छ ।

एप्पलले आईफोनको लागि मात्रै प्रयोग हुने चार्जर ल्याइरहेको छ । एप्पलले अहिले आईफोनहरुको लागि ‘लाइटनिङ’ कनेक्टरको प्रयोग गर्दै आइरहेको छ । एप्पलले ईयूको नयाँ प्रस्तावको विषयमा प्रतिक्रिया दिँदै यसले उपभोक्तालाई सहज बनाउनेभन्दा पनि उनीहरुलाई थप नोक्सानी पुर्‍याउन सक्ने चेतावनी दिएको छ । एप्पलले आफूहरु सन् २०३० सम्म सबै डिभाइसहरु कार्बन न्युट्रल बनाउने दिशामा अघि बढिरहेको बताएको छ ।

अधिकांश एन्ड्रोइड फोनमा यूएसबी माइक्रो बी चार्जिङ पोर्ट छ भने केही फोनमा यूएसबी–सी स्ट्यान्डर्डको चार्जिङ पोर्ट छ । आईप्याड र म्याकबुकको नयाँ मोडलमा यूएसबी चार्जिङ पोर्ट छ । अहिले गरिएको प्रस्तावअनुसार सबै डिभाइसको चार्जर यूएसबी–सी वा यूएसबी–ए हुनुपर्छ ।

ईयूका करिब आधा फोनमा यूएसबी माइक्रो बी कनेक्टर छ ।

प्रकाशित मिति:     ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar