भरत सिंह थापा
उप–प्राध्यापक, वित्तशास्त्र त्रि.वि.
पूँजीबजारको विकासले धेरै हदसम्म अर्थतन्त्रको विकासलाई इंगित गर्दछ । संसारका बलिया, ठूला अर्थतन्त्रको पूँजीबजार पनि बलियो, ठूलो, विश्वसनीय र धेरै हदसम्म स्थायित्व प्रदान गरेको देखिन्छ । अर्थतन्त्रमा रहेको खुद बचतलाई उत्पादनमुखी लगानीमा रूपान्तरण गर्न पूँजीबजारले पूँजी निर्माणकर्ताको रूपमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले लगानीकर्ताहरू, उद्योगी व्यवसायी, संगठित कम्पनी र सरकारका लागि आवश्यक धितोपत्रहरू डिजाइन गरेर तिनीहरूको सजिलो खरीद, विक्री तथा उचित मूल्य निर्धारणका लागि संयन्त्र तयार पारी सहजीकरण गरिदिन्छ, जसले गर्दा एकातिर लगानीकर्ताहरूले आफ्नो लगानीको सुरक्षाको प्रत्याभूति तथा प्रतिफल आकलन गर्न सक्छन् भने अर्कोतिर उद्योग, व्यवसाय तथा कम्पनीहरूले आफूलाई आवश्यक पर्ने पूँजी विभिन्न वित्तीय उपकरणहरू, जस्तै– ऋणपत्र, साधारण शेयर निष्कासन गरेर संकलन गर्न सक्छन् ।
गतिशीलता पूँजीबजारको स्वभाव हुँदा हुँदै पनि अपरिपक्व पूँजीबजारको विकासका लागि स्थायित्व अपरिहार्य छ । नेपाल जस्तो सानो र अतिकम तरलता भएको पूँजीबजारमा देखिने अस्थिरता र अनिश्चितताले अर्थतन्त्रको विकास र लगानीकर्ताहरूको मनोबलमा नकारात्मक असर पर्ने कुरालाई नकार्न सकिँदैन । तसर्थ नेपालको पूँजीबजारमा स्थायित्वका लागि पर्याप्त नीतिगत र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने देखिन्छ ।
हाम्रो पूँजीबजारको क्षमता अभिवृद्धिको आवश्यकतालाई विश्वव्यापी रूपमा देखिएको कोभिड–१९ (कोरोना भाइरस महामारी)को नराम्रो असरले उजागर गरिसकेको छ । नेपालको एउटा मात्र धितोपत्र कारोबारको दोस्रो पूँजीबजार (नेप्से) झन्डै १०० दिन लामो बन्द हुनु विश्वको वित्तीय बजारको क्षेत्रमा आफैमा अचम्मको समाचार हो । बजार पूर्णरूपमा अनलाइनमा जान नसक्नु, बजार निर्माताको अभाव, दलाल व्यवसायीको संस्थागत विकास नहुनु, पूँजीबजारमा सर्वसाधारणको पहुँच हुन नसक्नु, लगानी विविधीकरणका लागि पर्याप्त वित्तीय उपकरण तथा क्षेत्रहरूको अभाव र बजारमा सुशासनको खडेरी लगायतका कारण लामो समय बजार बन्द हुनुमा जिम्मेवार देखिन्छन् ।
लगभग २० लाख लगानीकर्ताले डिम्याट खाता खोलिसक्दा पनि मात्रै ३० हजार लगानीकर्ताहरू अनलाइन प्रणालीमा आबद्ध भएका छन् र त्यसमा पनि कारोबारका लागि दलालकै मुख ताकेर बस्नुपर्ने अवस्थाले बन्दाबन्दी (लकडाउन)को समयमा शेयर बजार खोल्न नसकेको स्पष्ट हुन्छ । त्यस्तै क्लियरिङ प्रणाली पनि स्वचालित (विद्युतीय) हुन नसकेकाले यो समस्या अझै जटिल बनेको छ । अर्कोतिर धितोपत्र दलाल (ब्रोकर)हरूको कमजोर व्यावसायिक तथा संस्थागत क्षमताले हाम्रो पूँजीबजार केही सीमित व्यक्ति तथा शहरी क्षेत्रमा मात्रै सीमित गरेको छ । सानो पूँजी, कमजोर प्राविधिक र मानव संसाधनको अवस्था, सेवाको विभेदीकरण र दयनीय संस्थागत सुशासनको चपेटामा परेका दलाल व्यवसायीहरूले बजारको जोखिम व्यवस्थापनमा कुनै ठोस भूमिका खेलेको देखिँदैन । त्यस्तै, लगानीकर्ताका लागि केही हदसम्म म्युचुअल फन्डको उपलब्धता भए पनि प्रायः बैंक तथा वित्तीय संस्थाको साधारण शेयरहरू मात्र छन् भन्दा अतिशयोक्ति नहोला । विश्वको वित्तीय बजारमा ऋणपत्रको बजारले ठूलो हिस्सा ओगटेको छ, जसले बजारमा स्थायित्व मात्र ल्याउन मद्दत गर्दैन बरु देशको औद्योगिकीकरण र भौतिक पूर्वाधार विकासमा समेत महत्वपूर्ण भूमिका खेल्छ । जब कि हाम्रो बजारमा ऋणपत्रको कारोबार प्रायः शून्य छ । यसैगरी देशको अर्थतन्त्रमा ठूलो योगदान गर्दै आएको कृषि तथा उत्पादनमूलक क्षेत्रको उपस्थिति पनि पूँजीबजारमा हुन सकेको छैन ।
बजारको स्थायित्व र यसमा व्यापक जनसहभागिताको बाधक अकुशल बजार पनि हो । एउटा कुशल बजारले पर्याप्त मात्रामा सन्दर्भ सामग्री सूचनाहरू सम्पूर्ण लगानीकर्तालाई समान रूपमा प्रवाह गर्नुपर्छ । तर, हाम्रो बजारले पहिलो कुरा त न्यूनतम सूचना पनि उत्पादन गर्न सकेको छैन । दोस्रो, सूचनाको गुणस्तर र असमान वितरण जताततै देख्न सकिन्छ । यसको परिणामस्वरूप व्यापक भित्र कारोबार (इन्साइडर ट्रेडिङ) हुने हुँदा सूचनाबाट वञ्चित साना लगानीकर्ताहरू जहिल्यै पनि मारमा परिरहेका छन् । यस्तो परिस्थितिमा बजारलाई विश्लेषण गर्ने विश्व्यापी उपकरण तथा सिद्धान्तहरू, जस्तै– प्राविधिक र आधारभू्त विश्लेषण कुनैले पनि काम गर्न सक्दैन । मात्र केही सीमित र इन्साइडर ट्रेडर र तिनीहरूलाई पछ्याउन सक्ने लगानीकर्ताले सर्वसाधारण लगानीकर्तालाई झुक्याएर (जस्तो बुल ट्याप) सट्टाबाजी थाप्छन् भने दीर्घकालीन लगानीकर्ता निरुत्साहित हुँदै जान्छन् । बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) पर्याप्त भएको थाहा पाउँदा पाउँदै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) तथा फ्रण्टडोर नियामक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मुकदर्शक भएर बस्नुले पूँजीबजारको भविष्यमाथि कालो बादल मडारिएको भान हुन्छ । अब यो परिस्थितिलाई चिर्दै आगामी दिनमा नेपालको पूँजीबजारमा स्थायित्व र दिगो विकासका लागि केही सुझावहरू यहाँ प्रस्तुत गरिएको छ :
१) नेपालको एक मात्र दोस्रो पूँजीबजार (नेप्से)मा तरलता बढाउन पूर्णरूपमा अनलाइन ट्रेडिङ व्यवस्थापन र विद्युतीय माध्यमबाट क्लियरिङ तथा सेटलमेन्ट हुनुपर्छ । यसले पारदर्शिता बढाउने र भित्री कारोबारलाई पनि निरुत्साहित गर्नेछ ।
२) पूँजीबजारको पहुँच बढाउन अहिले भएका दलाल कम्पनीहरूको क्षमता अभिवृद्धि गर्ने र बैंक तथा वित्तीय संस्थालाई दलाल व्यवसायको अनुमति दिने विद्यमान व्यवस्थालाई कार्यान्वयनमा ल्यायो भने पूँजीबजार गाउँदेखि शहर र अन्तर्राष्ट्रिय स्तरमा (गैरआवासीय नेपाली माझ)समेत पु¥याउन सकिन्छ ।
३) देशको बदलिँदो राजनीतिक प्रशासनिक व्यवस्थासँगै पूँजीबजारको संरचना पनि रूपान्तरण हुन जरुरी छ । अब केन्द्रीकृत पूँजीबजार संघीय, प्रान्तीय र स्थानीय तहसम्म पुगेर प्रत्येक तहको साधन स्रोतसँगै पूँजी परिचालनमा सहयोगी बन्नुपर्छ ।
४) अहिले पूँजीबजार र शेयर बजार पर्यायवाची भएका छन् । निकट भविष्यमा नेपालको पूँजीबजारको दायरा फराकिलो बनाउन जरुरी छ । त्यसका लागि ऋणपत्र, ईटीएफ, अप्सन, वारेन्स र फ्यूचरहरूको बजार निर्माण, प्रवद्र्धन तथा विस्तार गरिनुपर्छ । बजार निर्माता कम्पनीको स्थापना गर्ने म्युचुअल फन्डहरूलाई प्रवद्र्धन गर्ने र लगानी विविधीकरणका लागि पर्याप्त कदम चाल्नुपर्ने देखिन्छ ।
५) पूँजीबजारको विकासका लागि पूँजीबजार शिक्षाको विकास पनि अपरिहार्य छ । एकातिर साना लगानीकर्ताका लागि मूलभूत वित्तीय साक्षरताको आवश्यकता छ भने अर्कातिर पूँजीबजारसँग सम्बन्धित अध्ययन अनुसन्धान गर्ने एकेडेमीको आवश्यकता टड्कारो रूपमा देखिएको छ । छिमेकी मुलुक भारतमा नेशनल इन्स्टिच्युट अफ सेक्युरिटी मार्केट (एनआईएसएम)ले वित्तीय बजारको क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न निकै योगदान दिएको छ । त्यस्तै हामीले पनि वित्तीय बजारको प्रवद्र्धन, सुदृढीकरण र दिगो विकासका लागि एउटा अध्ययन संस्थान र अनुसन्धान केन्द्रको स्थापना गर्नुपर्ने आजको आवश्यकता छ ।
सम्बन्धित निकायले माथि उल्लेख गरिए बमोजिम समयमै नीतिगत परिमार्जन तथा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सके नेपालको पूँजीबजारको विकास सम्भव छ ।