ठगीको आरोपमा कन्सल्टेन्सीलाई  सवा सात करोेड बिगोसहित मुद्दा

ठगीको आरोपमा कन्सल्टेन्सीलाई  सवा सात करोेड बिगोसहित मुद्दा

काठमाडौं । वैदेशिक रोजगार विभागले इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्राइभेट कम्पनी, जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी, कास्कीका सदीक्षा गुरुङ र खिनशोभा गुरुङलाई प्रतिवादी बनाई न्यायाधिकरणमा मुद्दा दायर गरेको हो । 

विभागले जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सीविरुद्ध चार करोड सात लाख ७२ हजार बिगो दाबीसहित शुक्रबार वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता गरेको छ । जसमध्ये दुई करोड ८८ लाख ४१ हजार पीडितले ठगी बिगो माग दाबी गरेका छन् भने विभागले एक करोड ३२ लाख २५ हजार रुपैयाँ हर्जाना तोकेको छ । कन्सल्टेन्सीका सञ्चालक सुजन भट्टराईसमेतले आकर्षक तलब सुविधासहित पोर्चुगल, स्पेन, फ्रान्ससहितका मुलुकहरूमा रोजगारीमा लैजाने भन्दै प्रतिव्यक्ति १७ लाख ९२ हजार रुपैयाँ ठगी गरेको विभागले जनाएको छ । पीडितको जाहेरीका आधारमा विभागले सञ्चालक सुजन भट्टराईलाई २८ चैतमा पक्राउ गरिसकेको छ । सञ्चालक भट्टराईसहित, सुनील लम्साल र मेखबहादुर गुरुङले २२ जना व्यक्तिबाट दुई करोड ८८ लाख ४१ हजार ठगी गरेको विभागले दाबी गरेको छ ।

त्यस्तै, इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्राइभेट कम्पनीविरुद्ध बिहीबार वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता गराएको हो । कन्सल्टेन्सीको नाममा विभागले दुई करोड ४६ लाख १२ हजार रुपैयाँ जम्मा बिगो दाबी गरेको छ । जसमध्ये पीडितहरूले एक करोड ६४ लाख आठ हजार ठगी दाबी गरेका छन् भने विभागले ८२ लाख चार हजार रुपैयाँ हर्जाना तोकेको छ । विभागले कम्पनी सञ्चालक राधा सुवेदीसहितका आठजनाविरुद्ध मुद्दा दायर गरेको हो । कन्सल्टेन्सीले माल्टामा आकर्षक तलब सुविधा उपलब्धसहित रोजगारीका लागि लैजाने भन्दै प्रतिव्यक्ति दुई लाख ३५ हजार ठगी गरेको आरोप लगाएको छ । कन्सल्टेन्सीले जीवन ढुंगेलसहितका एक सय २२ जनालाई युरोप लैजाने प्रलोभन देखाई एक करोड ६४ लाख आठ हजार रुपैयाँ ठगी गरेको दाबी गरेको विभागले जनाएको छ । 

प्रकाशित मिति:     १४ जेष्ठ २०७९, शनिबार  |    Himali Khabar