तीन दिन अन्तर्राष्ट्रिय सीमा नाका बन्द

तीन दिन अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौं । सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि आज मंगलबार मध्यरातिदेखि मतदान हुने दिन (३० वैशाख) सम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो।

मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ। मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अनुमति बेगर सीमाबाट आउ–जाउ गर्न नदिन निर्देशन दिइएको बताए।

प्रकाशित मिति:     २७ बैशाख २०७९, मंगलवार  |    Himali Khabar