गौतम बुद्ध विमानस्थलमा जेठ २ देखि व्यावसायिक उडान

गौतम बुद्ध विमानस्थलमा जेठ २ देखि व्यावसायिक उडान

भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान सञ्चालन हुने भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेको छ।

अब बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेबाट परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ। वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने प्राधिकरणका अधिकारीले बताएका छन्।

विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

प्रकाशित मिति:     १८ फाल्गुन २०७८, बुधबार  |    Himali Khabar