शाखारहित सेवालाई जोखिमरहित गर्न निर्देशन

शाखारहित सेवालाई जोखिमरहित गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शाखारहित बैङ्किङ कारोबारसम्बन्धी सेवा सञ्चालन गर्दा उत्पन्न हुन सक्ने जोखिमलाई पूर्ण व्यवस्थापन गर्न निर्देशन दिएको छ । राष्ट्र बैङ्कले सक्षम प्रतिनिधिको पहिचान गर्ने संयन्त्रको विकास गर्न शुक्रबार बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

राष्ट्र बैङ्कले शाखारहित बैङ्किङ सेवा तथा आधिकारिक प्रतिनिधिसम्बन्धी व्यवस्थालाई व्यवस्थित बनाउन निर्देशन जारी गर्दै सम्भावित जोखिमलाई कम गर्नका लागि प्रभावकारी र प्रमाणयोग्य प्रक्रिया संस्था आफैँले अबलम्बन गर्नुपर्ने जनाएको छ । राष्ट्र बैङ्कले शाखारहित बैङ्किङ सेवा, बैङ्क तथा वित्तीय संस्था र ग्राहकबीचको सम्झौता, आधिकारिक व्यावसायिक प्रतिनिधिसँगको सम्झौता, प्रतिनिधि छनोटसम्बन्धी, तेस्रो पक्ष सेवा प्रदायकको, शाखारहित बैङ्किङ सेवा बन्द गर्न राष्ट्र बैङ्कको स्वीकृत लिनुपर्ने, बैङ्क तथा वित्तीय संस्थाबाहेकका भुक्तानी सेवा प्रदायक संस्थाको आधिकारिक प्रतिनिधिसम्बन्धी व्यवस्था तथा खारेजी र बचाउको विषयमा निर्देशन दिएको हो । शाखारहित बैङ्किङ कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थाले कम्तीमा सम्झौतामा सजिलै बुझिने गरी स्पष्ट र दोहोरो अर्थ नलाग्ने गरी नेपाली भाषामा लेखिएको हुनुपर्ने राष्ट्र बैङ्कको निर्देशन छ । कुनै ग्राहकले यस्तो सम्झौता अङ्ग्रेजी भाषामा गर्न चाहेमा सो पनि गर्न सकिने निर्देशनमा उल्लेख छ ।

लामो समयसम्म सेवा नलिएका ग्राहकको सेवा निष्क्रिय हुने वा नहुने सम्बन्धमा उल्लेख गर्नुपर्नेछ । ग्राहकले सार्वजनिक कम्प्युटर वा अन्तर्राष्ट्रिय नेटवर्क प्रयोग गरी कारोबार गर्दा उत्पन्न हुने जोखिमसम्बन्धी कुरा स्पष्ट रूपमा उल्लेख हुनुपर्नेछ ।

प्रकाशित मिति:     २३ माघ २०७८, आईतवार  |    Himali Khabar