दूधको मूल्य बढाउन अध्ययन गरिँदै

दूधको मूल्य बढाउन अध्ययन गरिँदै

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य बढाउन अध्ययन अघि बढाएको छ । किसानलाई प्रतिलिटर दूधको लागत मूल्य कति पर्छ भनेर बोर्डले अध्ययन गरिरहेको हो ।

बोर्डका अनुसार मुलुकभरका किसान र उद्योगबारे अध्ययन भइरहेको छ । सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकाले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल छ । किसान, उद्योगीको मागअनुसार मूल्य बढाउने तयारी गरिएको हो ।

बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले दूधको मूल्य बढाउनका लागि किसानको लागत कति पर्छ भनेर अध्ययन भइरहेको जानकारी दिए । सरोकारवाला निकायसँग मूल्य बढाउने विषयमा प्रारम्भिकरुपमा छलफल गरेको जानकारी दिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दूधको मूल्य बढाउने गरी प्रारम्भिक रुपमा छलफल भएको जानकारी दिए ।

दुग्ध उत्पादक, किसान, उद्योग र विज्ञहरूसँग यस विषयमा छलफल भएको बोर्डको सिफारिसमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दूधको मूल्य निर्धारण गर्ने गर्छ । दाना, चोकर, डिजेलको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ । बोर्ड, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ, दुग्ध विकास संस्थान (डीडीसी)को सिफारिसमा दूधको मूल्य प्रस्ताव गरिन्छ ।

डीडीसीका महाप्रबन्धक रुद्र पौडेलले प्रतिलिटरमा ६ देखि १० रुपैयाँ मूल्य बढाउने गरी छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति:     ४ पुष २०७८, आईतवार  |    Himali Khabar