एमाले महाधिवेशनले सौराहको ६५ सय होटलका कोठा बुक, ६ करोडबढीको कारोबार हुने अनुमान

एमाले महाधिवेशनले सौराहको ६५ सय होटलका कोठा बुक, ६ करोडबढीको कारोबार हुने अनुमान

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनले गर्दा चितवनको सौराहका होटलहरु भरिभराउ छ । नेकपा एमालेले महाधिवेशनमा सहभागी प्रतिनिधि तथा पाहुनाका लागि सौराहका होटलका ४ हजार कोठा बुक गरिएको छ। यी बाहेक विभिन्न जिल्लाबाट महाधिवेशन अवलोकन गर्न आएका कार्यकर्ता र शुभेच्छुकले पनि उत्तिकै संख्यामा होटलहरु बुक गरेका छन् । सौराहाका होटलमा ६५ सय कोठा छ । ति सबै बुक भएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

एमालेले आफ्ना प्रतिनिधिको खाना र बसोबासको व्यवस्थापनको क्रममा १ करोड ६० लाख रुपैयाँभन्दा बढी खर्च हुने जनाएको छ। सौराहमा सडकमा चिया बेच्नेदेखि, रेष्टुरेन्ट संचालन गर्ने, हात्ती सफारी, जिप सफारी गराउने सबैको व्यवसाय निकै फस्टाएको छ । महाधिवेशन अवधिमा सौराहामा ६ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको रेष्टुरेन्ट एन्ड बार एसोसिएसन सौराहका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए । पाहुनको चापका कारण गुणस्तरीय सेवा दिन नसकिने हो कि भन्ने चिन्तामा परेको उनले बताए ।

कोरोना संक्रमणको जोखिम कम भएर अवस्था सामान्य भइसक्दा पनि सौराहामा आशा गरे जति अझै विदेशी र स्वदेशी पर्यटक आइपुगेका थिएनन । तर अब भने सौराहको पर्यटनले नयाँ मोड लिने अपेक्षामा व्यवसायी छन् ।

प्रकाशित मिति:     १० मंसिर २०७८, शुक्रबार  |    Himali Khabar