सेयर बजार निरन्तर उकालोतिर, कारोबार रकम पनि बढ्दै

सेयर बजार निरन्तर उकालोतिर, कारोबार रकम पनि बढ्दै

काठमाडौं । लामो समय निरन्तर ओरालो लाग्दै सुस्ताएको सेयर बजार केही दिनयता निरन्तर उकालोतिर लागेको छ। बुधबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ। नेप्से परिसूचक १८.०६ अंकले वृद्धि भएर २७ सय ६९.१३ विन्दुमा पुग्दा कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबारको तुलनामा यसदिन नेप्से परिसूचक कम अंकले वृद्धि भएपनि कारोबार रकम भने उच्च अंकले बढेको छ। यस दिन साढे ६ अर्ब भन्दा बढीको सेयर कारोबार भएको छ।

सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ७८.८२ अंकले बढेर २७ सय ५१.०७ विन्दुमा पुगेको थियो। यसदिन २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँमा कारोबार भयो। मंगलबार २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर ६ अर्ब ३१ करोड ८३ लाख मूल्य बराबरमा कारोबार भएको थियो।

बुधबार १३ समूहमध्ये ४ समूहको परिसूचक ओरालो लागेको छ। होटल तथा पर्यटन, विकास बैंक, जलविध्युत र उत्पादन समूहको परिसूचक घटेको हो। बाँकी अन्य समूहको परिसूचक २.०६ प्रतिशतसम्म बढेको छ। यसदिन निर्जीव विमाको परिसूचक २.०६, अन्यको १.२२, लघुवित्तको १.१ प्रतिशतले बढेको छ भने बैंकिङ,व्यापार, फाइनान्स,लगानी समूहको परिसूचक सामान्य अंकले वृद्धि भएको छ।

प्रकाशित मिति:     १० कार्तिक २०७८, बुधबार  |    Himali Khabar