चीनबाट ३४० मेट्रिक टन युरिया मल नेपाल भित्रियो

चीनबाट ३४० मेट्रिक टन युरिया मल नेपाल भित्रियो

काठमाडौं । नेपाल चीनबीचको उत्तरी तातोपानी नाकाबाट रासायनिक मल नेपाल भित्रिन शुरु गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनसँग माग गरेको रासायनिक मल तातोपानी नाका हुँदै भित्रिन शुरू गरेको हो ।

तातोपानी भन्सार कार्यालयबाट काठमाडौँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा पठाउने तयारी भइरहेको भन्सार कार्यालयले जानकारी दिएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएको सिल्क ग्रुपले ढुवानीको सम्झौता गरी चीनबाट मल तातोपानी नाका हुँदै नेपाल ल्याएको हो ।
पाँच हजार एक सय मेट्रिक टन मल आयातको अनुमती पाएको सिल्क ग्रुपले तातोपानी नाका हुँदै हालसम्म ३४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले जानकारी दिए ।

नेपाल सरकारले यसअघि पनि उत्तरी नाका तातोपानी हुँदै साल्ट ट्रेडिङ कम्पनीमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल भित्र्याएको थियो ।

प्रकाशित मिति:     ७ कार्तिक २०७८, आईतवार  |    Himali Khabar