जनगणनाको काम दोस्रो चरणमा प्रवेश

जनगणनाको काम दोस्रो चरणमा प्रवेश

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को काम दोस्रो चरणमा प्रवेश गरेको छ । गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएसँगै राष्ट्रिय जनगणना दोस्रो चरणमा प्रवेश गरेको हो ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार आगामी कात्तिक ४ र ५ गते नयाँ जिल्ला जनगणना अधिकारी र सहायक जनगणना अधिकारीको अनलाइन तालिम सञ्चालन हुने, कात्तिक ६ देखि ९ सम्म नयाँ स्थानीय जनगणना अधिकारीलाई मुख्य प्रश्नावलीको जानकारी दिने, कात्तिक १० गते गणक तालिममा प्रशिक्षण गर्ने मुख्य प्रशिक्षक र छानिएका सुपरिवेक्षकबीच छलफल गर्ने कार्यतालिका निर्माण गरिएको छ ।

त्यस्तै कात्तिक ९ देखि ११ गते गणकको नियुक्ति गर्ने, कात्तिक १३ देखि १६ गतेसम्म गणकलाई तालिम प्रदान गर्ने र आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मुख्य गणना कार्य गर्ने कार्यतालिका निर्माण गरिएको छ ।

प्रकाशित मिति:     २६ आश्विन २०७८, मंगलवार  |    Himali Khabar