अप्टिकल फाइबर बिछ्याउने काम तीव्र

अप्टिकल फाइबर बिछ्याउने काम तीव्र

काठमाडौं । सरकारले अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याड सेवा उपलब्ध गराउने १८ प्याकेजमध्ये १५ वटामार्फत ६० जिल्लाका तोकिए बमोजिमका स्थानमा १०० प्रतिशत तथा दुईवटा प्याकेजमार्फत १० जिल्लाका तोकिए बमोजिमका स्थानमा ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणका अनुसार एउटै प्याकेजमार्फत चार जिल्लाका तोकिए बमोजिमका स्थानमा ३० प्रतिशभन्दा बढी कार्य सम्पन्न भई सेवा सञ्चालनमा ल्याएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा पुनर्मूल्यांकनको कार्य भइसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । दुई परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरणअन्तर्गत अनुगमन तथा पुनर्मूल्यांकन भइरहेको छ । दुई परियोजनाको दोस्रो चरणअन्तर्गत अनुगमन र एउटा परियोजना तेस्रो चरणअन्तर्गत अनुगमन भइरहेको छ । प्राधिकरणका अनुसार मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माणलाई प्याकेजमा अगाडि बढाइएको छ ।

पहिलो प्याकेज (प्रदेश नं १, २ र बागमती प्रदेश) अन्तर्गत नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)सँग २ वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता गरी काम शुरू भएको छ । हालसम्म १ हजार ६ (४६.१६ प्रतिशत) किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । पहिलो प्याकेजमा २ हजार १७९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने सम्झौता भएको थियो ।

प्रकाशित मिति:     १६ भाद्र २०७८, बुधबार  |    Himali Khabar