९८.८९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न, ६० लाख मेट्रिक टन धान उत्पादनको अनुमान

९८.८९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न, ६० लाख मेट्रिक टन धान उत्पादनको अनुमान

काठमाडौं । साउन अन्तिम साता देशभर ९७.८९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा साउन २८ गतेसम्म १३ लाख ४२ हजार ८१९.९४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । गत वर्ष १३ लाख ४६ हजार ९२० हेक्टर क्षेफलमा रोपाई सम्पन्न भएको थियो ।

कुल हेक्टर क्षेत्रफलमध्ये चार हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छैन । गत वर्ष ९८.१९ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्ष ९७.८९ भएको छ । गत वर्षकोभन्दा अघिल्लो वर्षहरुमा ९५ प्रतिशत मात्र हुन्थ्यो ।

सात प्रदेशमध्ये केही प्रदेशमा धेरै धान रोपाइँ भएको छ भने प्रदेश २ मा भने रोपाइँ कम भएको छ । प्रदेश २ मा यस वर्ष ९६.८० प्रतिशत मात्र धान रोपाइँ भएको छ भने यो समयमा गत वर्ष ९९.०२ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ ।

यस वर्ष ६० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान रहेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको छ । विभागकाअनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रकाशित मिति:     ३२ श्रावण २०७८, सोमबार  |    Himali Khabar