देशभर सात लाख ७६ हजार ४९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

देशभर सात लाख ७६ हजार ४९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

काठमाडौं । यस वर्ष देशभर ५६.६१ प्रतिशत अर्थात् सात लाख ७६ हजार ४९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार असार २२ गतेसम्म सो क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । जुन गतवर्ष भन्दा ४.५ प्रतिशतले कम हो ।

गतवर्ष समीक्षा अवधिमा कुल धान खेति हुने क्षेत्रफलको ६०.६६ प्रतिशत अर्थात् आठ लाख ३२ हजार १३३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो । नेपालमा कुल १३ लाख ७१ हजार ६०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ ।

यस वर्ष प्रदेश एक, दुई, गण्डकी र कर्णाली प्रदेशमा रोपाइँ ढिला भएको छ । गतवर्ष समीक्षा अवधिमा प्रदेश- १ मा ५०.८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो, यस वर्ष भने ४६.५८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।
यस्तै प्रदेश दुईमा गत वर्ष ५०.८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएकोमा यस वर्ष ३९.२८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको छ । गण्डकी प्रदेशमा गतवर्ष ५६.४९ प्रतशत भूभागमा रोपाईं सकिएकोमा यस वर्ष ३०.५७ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

गतवर्ष ८६.३ प्रतिशत रोपाइँ भएको कर्णाली प्रदेशमा यसवर्ष ८३.८५ प्रतिशत भूभागमा मात्रै रोपाईं सम्पन्न भए भने गतबर्ष ५२.२ प्रतिशत भूभागमा रोपाइँ भएको बागमति प्रदेशमा यस वर्ष ६१.१ प्रतिशत भूभागमा रोपाईं सकिएको छ ।

प्रकाशित मिति:     २४ असार २०७८, बिहीबार  |    Himali Khabar